लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान सुरु गर्दै व्यास नगरपालिका
दमौली:तनहुँको व्यास नगरपालिकाले लामखुट्टे नियन्त्रण अभियान सुरु गर्न लागेको छ । डेंगु नियन्त्रणकालागि लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान थालनी गर्न लागेको हो ।
गर्मी याम सुरु भएसँगै डेंगुको फैलने भएकाले नगरपालिकाले खोज र नष्ट गर अभियान सुरु गर्न लागेको हो। नगरपालिकाको स्वास्थ्य शाखाले १४ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय, टोल विकास संस्थालाई परिपत्र गर्दै अभियान सञ्चालनका लागि निर्देशन दिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
गत वर्ष नगरभित्रका सबै वडाका क्षेत्रमा डेंगु ज्वरोको सङ्क्रमण फैली जनस्वास्थ्य समस्याको रूपमा रहेको विदितै रहेकाले यस वर्ष पूर्वतयारी अपनाउन आवश्यक रहेको सोतीले बताए। अभियानका क्रममा आ–आफ्नो घर वरपर सरसफाइ गरी पानी जम्न नदिने, खाडल पुर्ने र टिनका डब्बा, टायर, गमला, फूलदानी, बाल्टीमा पानी जम्न नदिने अभियान सञ्चालन गरिने सोतीले जानकारी दिए।
त्यस्तै बिहान र साँझपख यो रोगको लामखुट्टे बढी सक्रिय हुने र टोक्ने हुँदा सकेसम्म घरबाहिर खेतबारी, हाँस, सुङ्गुर, बङ्गुर फार्ममा ननिस्कन आग्रह गरिएको छ। स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले गत गर्मी महिनाको डेङ्क्रमणको अवस्थालाई ध्यानमा राखेर सबै स्थानीय तहले पूर्वतयारी थाल्नुपर्ने बताए।
एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो। यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ। यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेसी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगुको लक्षण हुन्।
Share on Twitter