मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनियुक्त उपकुलपति प्राडा अंकुर साहले शपथ लिए
काठमाडौं:मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनियुक्त उपकुलपति प्राडा अंकुर साहले शपथ लिएका छन् । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्राडा अंकुर साहलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
सो अवसरमा मुख्यमन्त्री यादवले नव नियुक्त उपकुलपतिलाई गर्व गर्न लायक काम गर्न निर्देशन दिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले प्राडा साहको कार्यकाल अब्बल र सोचेभन्दा राम्रो होस् भनी शुभकामना व्यक्त गरे । मधेश प्रदेश स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि गत १८ असोजमा दरखास्त आह्वान गरेको थियो । जसमा ९ जनाको दरखास्त परेको थियो ।
९ जनामा डा साहसंगै डा. रमेशप्रसाद सिंह (सर्लाही), डा. योगेन्द्रप्रसाद सिंह (सर्लाही), डा. पशुपति चौधरी (सुनसरी), डा. राजेन्द्रप्रसाद साह (पर्सा), डा. गौरीशंकर साह (सुनसरी), डा. विद्यानाथ यादव (सप्तरी), डा. रोहितप्रसाद यादव (रौतहट) र डा. सुधीरकुमार सिंह (महोत्तरी)ले आवेदन दिएका थिए । तर, लामो समयदेखि स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको थिएन । गत फागुन २१ गते स्वास्थ्य मन्त्रालयले उपकूलपतिका लागि डा. साहको नाम एक नम्बरमा राखेर सरकारलाई सिफारिस गरेको थियो ।
Share on Twitter