फार्मेसीबाट न्युट्रास्युटीकल्स विक्री नगर्न एनसिडिए काठमाडौंको आग्रह
काठमाडौं:नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाले न्युट्रास्युटीकल्सहरुको विक्री वितरण नगर्न आग्रह गरेको छ । संघका महासचिव शुभमान श्रेष्ठले विज्ञप्ति जारी गर्दै औषधी ऐन २०३५ को पालना गर्दै औषधी पसल सञ्चालन गर्न आग्रह गरेका हुन् ।
“औषधी व्यवस्था विभागको मिति २०८० फागुण २२ गते प्रकाशित गरेको सुचना प्रति यस जिल्ला शाखाको गम्भीर ध्यानाकर्षण भएको छ। नेपाल औषधी व्यवसायी संघको गरिमा तथा सेवामुलक व्यवसाय गरिरहेका हामी व्यवसायीहरुको मर्यादालाई मध्यनजरमा राखी औषधी ऐन २०३५ को पालना गर्दै औषधी पसल सञ्चालन गर्नु हाम्रो दायित्व र कर्तव्य पनि हो।”
न्युट्रास्युटीकल्सको विक्रि वितरणलाई व्यवस्थित बनाउने बिषयमा छलफल भइरहेको उनले उल्लेख गरेका छन् । “अहिले बजारको प्रकृति र स्वास्थ्य क्षेत्रमा आएका आमूल परिवर्तनहरुले गर्दा हामी हाम्रो पसल सञ्चालनको लागि अत्यावश्यक रहेको तर नियामक निकायमा दर्ता नभएका कतिपय औषधीपूरक भनिएका न्यूट्रास्युटीकल्स प्रोडक्टहरु लगायत अरु सामग्रीहरू हाम्रा औषधि पसलहरुवाट बिक्री वितरण भईरहेको यहाँहरु माझ सर्वविदितै छ र समय समयमा नियामक निकायबाट हुने गरेका बजार अनुगमन र निरीक्षणको क्रममा भेटिएका यस्ता प्रोडक्टहरु जफत भईरहेका पनि छन्। यस्ता कार्यहरुबाट हाम्रा व्यवसायीहरुलाई आर्थिक भार पर्नुको साथै नैतिकता माथि प्रश्न चिन्ह उठी समाजमा व्यक्तिगत छविमा आँच आउने बारे यहाँहरु स्वयम् जानकार हुनुहन्छ। यही यथार्थतालाई हृदयंगम गरी हामी औषधी व्यवसाय गरिरहँदा औषधि, औषधिजन्य तथा औषधि व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने वस्तुहरूको बिक्री वितरण गर्न पाउनुपर्छ भन्ने बारेमा बृहत छलफल चलाईरहेका छौं र यस्ता प्रोडक्टहरू विक्री वितरण के कसरी व्यवस्थित गर्न सकिन्छ भनी नियामक निकायसंग निरन्तर हामी वार्तामा नै छौं।”

Share on Twitter