वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

काठमाडौं:वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । आचार्यको ८२ वर्षको उमेरमा सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको जनाइएको छ ।
स्वरसम्राट नारायणगोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् । आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।
राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ । आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् । आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् ।