दुर्गा प्रसाईंको पक्षमा देखिएको जनमतमा लोभिएको राप्रपा
काठमाडौँ : राजतन्त्र र हिन्दुराष्ट्र पुनर्स्थापनाको एजेण्डासहित भ्रष्टाचारविरोधी अभियान चलाइरहेका मेडिकल व्यवसायीसमेत रहेका दुर्गा प्रसाईंको पक्षमा देखिएको जनमतमा लोभिएको राप्रपाले अप्रत्याशित रूपमा ‘एकताको कार्ड’ फ्याँकेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र दुर्गा प्रसाईंबिचको सम्बन्ध त्यति सुमधुर नरहेको चर्चाका बिच राप्रपाको तर्फबाट एकाएक एकताको कार्ड अघि सारिएको हो । सुरुमा व्यवस्था विरोधी आन्दोलनमा कार्यगत एकता र त्यसपछि पार्टी एकतासम्मै पुग्ने योजनाका साथ राप्रपाले वार्ता समिति गठन गरेको नेताहरूको भनाइ छ ।
त्यसका लागि राप्रपाले उपाध्यक्ष हेमजङ्ग गुरुङ र महामन्त्री डा धवलशमशेर राणाको नेतृत्वमा वार्ता समिति बनाइसकेको छ । उपाध्यक्ष गुरुङले तत्कालका लागि प्रसाईंसँग मिलेर आन्दोलनमा जाने गरी पार्टीको तर्फबाट वार्ता समिति बनाइएको जानकारी दिए । ‘हाम्रो समान उद्देश्य भएकाले आन्दोलनमा मिलेर जाऔँ भनेर संवादका लागि वार्ता समिति बनाइएको हो,’ उनले रातोपाटीसँग बुधबार भने, ‘वार्ता समितिले मंगलबार प्रसाईंसँग सामान्य संवाद गरेको छ । यो संवादलाई निरन्तरता दिन्छौँ ।’
उनका अनुसार वार्ता समितिले तत्कालका लागि मिलेर आन्दोलन गर्ने बारेमा प्रसाईंसँग छलफल गरेको छ । आगामी दिनमा एकताको चरणसम्म पनि पुग्न सकिने ढोका पनि खुला रहेको उनको भनाइ छ । अहिले नै एकता गर्ने भनेर भन्नुभन्दा पनि अहिलेको आवश्यकताअनुसार दुवै पक्ष मिलेर आन्दोलनमा जाने विषय प्रमुख रहेको उनको भनाइ छ ।
राप्रपाले आफ्नो तर्फबाट वार्ता समिति बनाए पनि प्रसाईंको तर्फबाट कुनै समिति बनाइएको छैन । बरु प्रसाईंले राप्रपाले गठन गरेको समिति र नेतृत्वलाई नै चिढ्याउन बनाउने गरी अभिव्यक्ति दिएका छन् । प्रसाईले आफू राप्रपामा भित्रने कुरा कल्पनाबाहिरको कुरा भएको मात्रै बताएका छैनन् ‘रोटी साँधेर खानेहरूको के कुरा गर्नुहुन्छ रु’ भन्दै कटाक्ष समेत गरेका हुन् ।
हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेको राप्रपा संघीय संसद्को पाँचौँ ठुलो पार्टी हो भने प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नाममा अभियान सञ्चालन गर्दै आएका छन् । लिङ्देन र प्रसाईंको समान एजेन्डा भए पनि दुई समूहले छुट्टाछुट्टै अभियान मात्रै गर्दै आएका छैनन्, विगतदेखि नै एकले अर्कालाई नटर्ने गरेको उदाहरण समेत छन् ।
Share on Twitter