काठमाडौं र ललितपुरमा पनि देखियो अफ्रिकन स्वाइन फिभर
ललितपुर:ललितपुर महानगरपालिकाले अफ्रिकन स्वाइन फिभरबाट सजक रहन आग्रह गरेको छ । एक सूचना जारी गर्दै महानगरले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।
लमजुङ, कास्की, तनहुँ, ललितपुरको गोदावरी नगरपालिका र काठमाडौंको कीर्तिपुर नगरपालिकामा समेत सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको पुष्टि भएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।
महानगरको पशु शाखाले रोगको शंका लागेका पशुलाई स्थानबाट छुट्टाएर अलग्ग राख्ने, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्ने तथा जलाउनुपर्ने भनेको छ।‘ललितपुर महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा पालिएका बङ्गुर र सुँगुर पालक व्यवसायीले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन पशु सेवा शाखा हार्दिक अनुरोध गर्दछ।’सूचनामा उल्लेख छ।
घरपालुवा सुँगुर र बङ्गुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिने भन्दै महानगरले रोग देखापरेको क्षेत्रबाट सुँगुर प्रजाती पाठापाठी संक्रमित मासु र दाना ओसारपसार नगर्न समेत भनेको छ।

Share on Twitter