सीटीईभीटीमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको धर्ना
काठमाडौं: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सानोठिमीका कर्मचारी धर्नामा बसेका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठनले पदपूर्ति लगायत ५ बुँदे माग राखेर धर्ना सुरु गरेको हो ।
गत पुस ०८ गते पोखरा प्राविधिक शिक्षालय, पोखरामा बसेको नेपाल राष्ट्रिय कर्मचारी संगठनको केन्द्रीय समितिको चौथो पूर्ण बैठकको निर्णय अनुसारका चार बुँदे मागपत्र पेश गरेकोमा व्यवस्थापनले वेवास्ता गरेकोले सो बुँदामा नर्सिङ कार्यक्रम सम्बन्धि थप एक माग राखि आजदेखि धर्नामा बसेको हो ।
परिषद्को प्राङ्गणमा मागहरू उल्लेखित ब्यानर सहित संगठनको संघर्षको अर्को स्वरूप सम्बन्धि निर्णय नभएसम्मको लागि अध्यक्ष, एक जना उपाध्यक्ष र महासचिव गरि तीन जना कार्यालय समयभरि धर्नामा बसेको संगठनका अध्यक्ष तेज खत्रीले बताए । अध्यक्ष खत्रीले अन्य सम्पूर्ण कर्मचारीहरूलाई यी मागहरूमा ऐक्यवद्धताका लागि समेत आव्हान गरेका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनसँग विभिन्न मितिमा व्यवस्थापन समितिले गरेका निर्णय तथा उच्च अदालत, पाटनबाट मिति २०८० भदौ २७ गते जारी भएको आदेश अनुसार माघ १० गते भित्रमा पदपूर्ति गर्नुपर्ने माग पुरा नभएपछि आन्दोलनका कार्यक्रम ल्याएको संगठनका उपाध्यक्ष कमल ढकालले बताए ।
यो सँगै जिम्मेवारी हेरफेर, सेवा करार तथा ज्यालादारी कर्मचारीको महँगी भत्ता उपलब्ध गराउनुपर्ने, प्रधानमन्त्रीद्वारा घोषणा गरेको सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने तथा आगामी शैक्षिक सत्रबाट सञ्चालन गर्नेगरि परिषद् अन्तर्गतका सम्भाव्य आंगिक शिक्षालयहरूमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालन गर्न आवश्यक प्रक्रिया शुरू गर्नुपर्ने लगायतका मागहरू राखेको उपाध्यक्ष ढकालले बताए ।

Share on Twitter