चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारी छ : स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौं:स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्यलाई व्यवस्थित गर्न सके ७५ प्रतिशत मानसिक रोगी घट्ने विश्वास व्यक्त गरेका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९० औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्यको चिन्ताले मानसिक समस्या बढाएको दाबी गरेका हुन् । चिकित्सा शिक्षा ऐन कै कारण राम्रो अङ्क ल्याएका विद्यार्थीहरू मेडिकल शिक्षाबाट वञ्चित हुनुपरेको उनको भनाई छ ।
चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने विषयमा छलफल भइरहेको उनको भनाई छ । मन्त्री बस्नेतले अगामी शैक्षिक सत्रदेखि १०० देखि ३०० शैयाका अस्पतालहरूमा नर्सिङ र प्यारामेडिक्सको पढाई सुरु हुने दाबी गरेका छन् । मन्त्री बस्नेतले भने, ‘ आउँदो शैक्षिक सत्रदेखि देशका सबै ठुला अस्पतालमा नर्सिङ र प्यारामेडिक्सको पढाई सुरु हुन्छ । यो काम गर्न सरकार तर्किने र पर्खने वाला छैन । ’
स्वास्थ्य मन्त्रालयले १०० देखि ३०० शैयासम्मका अस्पतालहरूमा नर्सिङ र प्यारामेडिक्सको पढाई गर्ने र ३०० शैयाभन्दा माथिका अस्पतालहरूमा एमबिबिएसको पढाई गर्ने निर्णय गरेर मन्त्रीपरिषद्मा पठाई सकेको जानकारी दिँदै मन्त्री बस्नेतले यसका विषयमा प्रधानमन्त्री सहित सिङ्गो मन्त्रीपरिषद् सकारात्मक भएकाले यसका विषयमा चाडै टुङ्गोमा पुग्न लागेको दाबी गरे ।
‘ चिकित्सा शिक्षा आयोगसँग पनि यसका विषयमा छलफल भइरहेको छ । सबै पक्ष सकारात्मक छ । चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रिया अगाडि बढेको छ । ’ मन्त्री बस्नेतले भने, ‘ अब अस्पतालहरूले बिरामीको उपचार मात्र गर्ने होइन, चिकित्सा क्षेत्रको जनशक्ति पनि उत्पादन गर्नु पर्छ । ’
चिकित्सा शिक्षा ऐनका कारण ठुलो संख्यामा चिकित्सा शिक्षा पढ्न चाहने नेपालीले स्वदेशमा पढ्न नपाएको बताउँदै मन्त्री बस्नेतले नेपालमै चिकित्सा शिक्षा अध्ययन गर्ने प्रशस्त अवसरहरू प्रदान गर्न सरकारले पहल गरिरहेको दाबी गरे ।
Share on Twitter