टेकु अस्पतालको सेवामा सुधार : फार्मेसी र एम्बुलेन्स २४ सै घण्टा सञ्चालन
काठमाडौं:शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकामा एक वर्षको अवधिमा १ एक लाख भन्दा बढीले सेवा लिएका छन् ।
अस्पतालको ९० औँ वार्षिकोत्सव कार्यक्रममा वार्षिक विवरण प्रस्तुत गर्दै अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले गत वर्ष मात्रै एक लाख ६१९ जनालाई बहिरङ्ग सेवा प्रदान गरेको जानकारी दिएका हुन् । यस्तै सोही समयमा १२ हजार जनाले आकस्मिक सेवा लिएका छन् ।
उनका अनुसार अस्पतालमा गत वर्ष दुई हजार बिरामी भर्ना भएका थिए । एक हजार ६८२ जना विपन्न नागरिकको निःशुल्क उपचार गरिएको थियो । यस्तै महिला हिंसा अन्तर्गत १५ जनाको उपचार गरेको थियो । अस्पतालका निर्देशक डा.बसौलाले गत वर्ष कोभिड लागेर ८१ जना उपचारमा आएको जानकारी दिँदै ती मध्ये एक जनाको मृत्यु भएको बताए ।
सन् १९९० सालमा कलेरा अस्पतालको रूपमा स्थापना भएको शुक्रराज अस्पताल विसं २०५३ माघ ११ गतेदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रूपमा सेवा दिन थालेको थियो । बसौलाले अस्पताल हाल अस्पतालमा एक सय बेड सञ्चालन रहेकोमा ६० बेड निःशुल्क गरिएको जानकारी दिए ।
हाल अस्पतालमा टाइफाइड, कालाजार, जापानिज इन्सेफ्लाइटिस, हैजा, रेबिज, एचआइभी एड्स लगायतका सरुवा रोगका बिरामीहरूको उपचार गर्दै आएको छ । हाल अस्पतालमा दुई हजार २५० भन्दा बढी एचआइभीका बिरामीहरू उपचाररत छन्। शुक्रराज अस्पतालले २४सै घण्टा रेबिज खोपको सेवा प्रदान गर्दै आइरहेको छ ।
डा.बसौलाले सामाजिक सेवा एकाइको सेवालाई २४ घण्टा सञ्चालन हुने व्यवस्था मिलाएको बताए । उनले एम्बुलेन्स सेवालाई समेत २४ घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाएको बताए । उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट उपलब्ध हुँदै आएको एलो फीभर भ्याक्सिन सेवा पनि अस्पतालमै दिन सुरु गरिएको उनको भनाई छ ।
Share on Twitter