बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक डाक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं:प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक बोलाउन उपकुलपतिलाई निर्देशन दिएका छन् ।
प्रतिष्ठानका उपकुलपति डा।प्रह्लाद कार्कीलाई आइतबार आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले समितिको बैठक बोलाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहालले समितिको बैठक धरान मै राख्नपनि निर्देशन दिएका छन् । यसैबिच प्रधानमन्त्रीले सहकुलपति तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आजैका मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न पनि निर्देशन दिएका छन् ।
भेटमा प्रधानमन्त्री दाहालले नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजान पनि आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। उपकुलपति डा कार्कीले आइतबार नै मुख्य सचिव वैकुण्ड अर्यालसँग पनि प्रतिष्ठानमा हाल देखिएको समस्या र त्यसको समाधानका विषयमा छलफल गरेका थिए।
प्रतिष्ठानमा हाल देखिएको समस्या र त्यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको प्राडा कार्कीले जानकारी दिए। उनले छिट्टै कार्यकारिणी समितिको बैठक बोलाउने र कर्मचारीले उठाएका विषयहरुलाई समाधान गर्दै अगाडि बढ्ने विषयमा छलफल केन्द्रित भएको बताए।बीपी प्रतिष्ठानमा कार्यरत चिकित्सक कर्मचारीहरू विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् ।
Share on Twitter