बागलुङमा क्षयरोगको चुनौती, एउटै पालिकामा एक सय ११ जना संक्रमित
काठमाडौं:बागलुङको एउटै पालिकामा एक सय ११ जनामा क्षयरोग पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले गरिरहेको परीक्षणमा उक्त संख्यामा क्षयरोगी फेला परेको जनाइएको छ ।
कार्यालयका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले क्षयरोग निर्मूल पार्ने अभियानमा क्षयरोगको सम्भावना रहेको बडिगाडमा स्वास्थ्य शिविर गर्दा सो सङ्ख्यामा क्षयरोग देखिएको जनाउँदै उनीहरुलाई स्वास्थ्य कार्यालयको सम्पर्कमा राखेर उपचार थालिएको बताए।
‘कार्यालयले क्षयरोग शुन्यमा पार्ने अभियानअन्तर्गत खोजपड्ताल गरिरहेको थियो, जसमध्ये बडिगाडमा क्षयरोगी भेटिएपछि उपचारतर्फ लागेका छौँ,’ घिमिरेले भने, थदुई हप्ताअघि गरेको शिविरमा ९८ जना फेला परेपछि हालसम्म धेरै स्थानमा गरेको परीक्षण र प्राप्त रिपोर्टका आधारमा बडिगाडभित्रै एक सय ११ जना क्षयरोगी भेटिएका छन्, उनीहरुमध्ये २६ जनामा सार्ने प्रकारको क्षयरोग भेटिएको हो।’
बडिगाड गाउँपालिकाको पहल तथा जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्थाको प्राविधिक सहयोगमा गरिएको क्षयरोग शिविरमा बढी क्षयरोगी भेटिएका हुन्।
बागलुङमा यसअघि दुई सय ३५ क्षयरोगीले नियमित औषधि खाइरहेकामा बडिगाडका १११ थपिँदा ३४६ पुगेको स्वास्थ्य कार्यालयको तथ्याङ्ले देखाएको छ। क्षयरोगीको पहिचान गर्नका लागि रोग पत्ता लगाउने उपकरण बागलुङको पश्चिम क्षेत्र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा समेत जडान गरिएको छ ।
Share on Twitter