टेकु अस्पतालको मुहार फेर्दै डा बसौला , अल्छी कर्मचारीको भागाभाग
काठमाडौं:शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु व्यवस्थित बन्दै गएको छ । लथालिङ्ग रहेको अस्पतालको सेवा सँगै प्रशासनिक रूपमा पनि सुधार हुन थालेको छ ।
अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले निर्देशकको जिम्मेवारी सम्हाले लगतै सुधारको प्रक्रिया सुरु गरेका छन् । उनले सुरुवात गरेको प्रणालीलाई केही कर्मचारीहरूले भने रुचाएका छैनन् । गत पुस एक गतेबाट उनले कर्मचारीहरूको हाजिरी विद्युतीय माध्यमबाट गर्ने व्यवस्था लागु गरेका छन् ।
यसअघि दुई घण्टा काम गरेर ढड्डामा कार्यालय समयकै हाजिर लगाउनेहरू बसौलाको यो कदमप्रति रुष्ट बनेका छन् । अस्पतालका एक कर्मचारीका अनुसार कार्यालय समय अवधिभर अस्पतालमा नबसेर निजी अस्पताल धाउने दुई जना डाक्टरले अस्पताल नै छोडेका छन् ।
अल्छी कर्मचारीहरू भागाभाग गर्न थालेको उनले बताए । उनी भन्छन् ‘पहिले पहिले त आउने एक दुई घण्टा काम गरेर निजीमा जाने डाक्टरहरू अहिले विद्युतीय हाजिरीमा काम नै गर्न सकेनन् । उहाँहरूले छोड्नुभयो’ यस्तै बसौलाले सामाजिक सेवा एकाइको सेवालाई २४ घण्टा सञ्चालन हुने व्यवस्था मिलाएका छन् । यस्तै उनले एम्बुलेन्स सेवालाई समेत २४ घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाएका छन् ।
यस्तै उनले माघ २ गतेदेखि अस्पताल फार्मेसी सेवालाई पनि २४ सै घण्टा सञ्चालन को व्यवस्था गरेपछि आर्थिक अवस्था कमजोर भएकाहरू लाभान्वित भएका छन् । निजी फार्मेसीमा महँगो पैसा तिर्नुपर्ने बाध्यता हटेको जनाइएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट उपलब्ध हुँदै आएको एलो फीभर भ्याक्सिन सेवा पनि अस्पतालमै दिन सुरु गरिएको डा बसौलाले बताए ।
कर्मचारीको साथ र सहयोगमा नै सेवामा सुधार भइरहेको उनको भनाई छ । अस्पताले प्रदान गर्ने सेवालाई सहज बनाउने र सबैभन्दा बढी गुणस्तरीय सेवा प्रदान गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले २०८० मंसिर १० गते बालरोग विशेषज्ञ डा. बसौलालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा नियुक्त गरेका हुन् ।
अस्पताल निर्देशकको जिम्मेवारी सम्हालेको २ महिना नपुग्दै उनले थालेको प्रयासलाई सेवाग्राहीले समेत धन्यवाद दिन थालेका छन् । अहिले समयमा डाक्टर भेटिने , अस्पतालको फार्मेसीमा समेत सहजता पाएपछि सेवाग्राहीहरू समेत खुसी भएका छन् ।
Share on Twitter