त्रिचन्द्र कलेजमा कर्मचारीको लापरबाही : जानकारी विनै अनुपस्थित , दराजमा ताला, कम्प्युटरमा लक
काठमाडौं:मोरङकी कल्पना बास्तोला शुक्रवार काठमाडौंको त्रिचन्द्र कलेज पुगिन् । भाइलाई बि ए मा भर्ना गर्न पुगेकी उनी भर्ना नगरी फर्कनु पर्यो ।
सोसल वर्क विषयमा भर्ना गर्न भनेर कलेज पुगेकी उनी भर्ना फारम दिने व्यक्ति नभेटेपछि फर्किएकी हुन् । यो उनको पहिलो पटक भने होइन । यो भन्दा अघि पनि दुई पटक कलेज पुगेर फारम दिने व्यक्ति नभेटेरै फर्किएकी थिइन् ।
उनी भन्छिन् ‘म तीन पटक भयो आज अरू विषयको त फारम बाडेको रहिछ तर वि एस डब्लुको फारम दिने व्यक्ति रहेनछन ’ फारमका लागि पर्खिएकी कल्पना एक घण्टापछि मात्र व्यक्ति नभएको थाहा पाइछन् । ‘सुरुमा त एक छिनमा आउनुहुन्छ भन्नुभयो तर निकै बेर पछि मात्र उहाँ आउनुहुन्न होला भन्ने कुरा त्यहाँका अरूले गर्नुभयो ’उनले भनिन् ।
यता सहायक क्याम्पस प्रमुख उप प्राध्यापक अजन्ता आचार्यसँग कुरा बुझ्दा विना जानकारी कर्मचारी अनुपस्थित रहेको पाइएको उनले बताइन् ।‘तीन तीन पटक नभेटेकाले मानविकी समूह की सहायक क्याम्पस प्रमुख अजन्ता म्यामसङ गुनासो गरेको कर्मचारी अनुपस्थित नभएको कुरा त उहाँलाई नै थाहा रहेन छ यस्तो व्यवस्थापनले कसरी विद्यार्थी आकर्षित हुन्छन् त ?’
बास्तोला जस्तै काठमाडौँकी सविता आचार्यले पनि फारम नपाएर नै फर्किनुपरेको गुनासो गरिन् ।‘त्रिचन्द्रको व्यवस्थापन निकै फितलो लाग्यो कर्मचारी बिदामा बसे पनि काम नरोकिने गरी बस्नुपर्यो या त अरू कसैलाई जिम्मेवारी दिएर जानु परो हामी कति धेरै काम छोडेर आयौँ क्याम्पस आउँदा काम नै गर्न पाइएन । निजी मा भएको भए कति सहज हुन्थ्यो यहाँ त दिन कटाउन मात्र आउने रैछन् ’ सरकारी क्याम्पसको सेवा प्रवाहमा झन्झट हुँदा अहिले विद्यार्थी सङ्ख्या घटेको उनको तर्क छ ।
कर्मचारी अनुपस्थित भएको विभागलाई नै छैन जानकारी
यता सहायक क्याम्पस प्रमुख अजन्ता आचार्यले पनि वि एस डब्लुको भर्ना फारम वितरण गर्ने प्राविधिक सहायक नरेश श्रेष्ठ विना जानकारी अनुपस्थित रहेको स्वीकार गरेकी छन् । लेखा प्रमुख अर्जुन श्रेष्ठसङ नरेशबारे जानकारी लिँदा उनी अनुपस्थित रहेको आचार्यले बताइन् ।
उनले भनिन्‘मैले उहाँको विभागीय प्रमुखसँग बुझ्दा नरेश जी विना जानकारी बिदा बस्नुभएको रहेछ ’। बिदा बस्दा विभागीय प्रमुखलाई जानकारी दिनुपर्ने भए पनि उनले त्यसो नगरेकाले त्यसबारे थप बुझ्ने उनको भनाई छ । यता लेखा प्रमुख अर्जुन श्रेष्ठलेपनि नरेशको बिदा बारे आफूलाई जानकारी नभएको बताए ।
उनले भने ‘उहाँको बिदा बारे मलाई जानकारी भएन , विद्यार्थीहरूले फारम भर्न नपाएको भन्ने सुनेर मैले उहाँलाई फोन गरे तर उहाँको फोन पनि उठेन ’बिदा बस्दा जिम्मेवारी हस्तान्तरण पनि नगरेकाले यसबारे उहाँसँग सोधपुछ गर्ने उनको भनाई छ । फारम राखेको दराजको चाबी र कम्प्युटरको पासवर्ड समेत अरूसँग नभएकाले विद्यार्थीहरूलाई नरेशको अनुपस्थितिमा फारम दिन नसकिएको उनले बताए ।
उनले भने ‘फारम , रसिद भएको दराजको चाबी उहाँसँग मात्र हुन्छ अनि अर्को कुरा कम्प्युटरमा समेत पासवर्ड लक गरेको छ त्यसैले विद्यार्थीलाई भर्ना नगरी फिर्ता गर्नुपर्यो’। शुक्रवार मात्रै करिब ८ जना विद्यार्थी भर्ना नभई फर्किएको बताइएको छ ।
Share on Twitter