टुँडिखेलको भीडमा चेपिएर ११ जना घाइते
काठमाडौं : काठमाडौंको टुँडिखेलमा अत्यधिक भीडभाडमा चेपिएर ११ जना घाइते भएका छन् ।माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी धेरै भएपछि भिड भएको हो ।
जसमा १ प्रहरी पनि घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार यसरी घाइते हुनेमा खोटाङ हलेशी तुवाचुङ नगरपालिका १० घर भई ललितपुरको पाटनढोका बस्ने वर्ष १२ की त्रिसना मगर, सिन्धुपालचोक घर भई ललितपुरको चामुण्डा बस्ने वर्ष १२ की अञ्जना तामाङ, धादिङको गंगाजमुना गाउँपालिका ५ घर भई काठमाडौँको फुटुङ बस्ने वर्ष १९ की रेजिना घले, धनकुटा घर भई ललितपुरको चाखुपाट बस्ने वर्ष १६ की निकिता मगर, बर्दिया राधापुर नगरपालिका १ घर भई काठमाडौँको नयाँबजार बस्ने वर्ष ३० की रेखा चौधरी रहेका छन्।
सोही भागदौडका क्रममा प्युठान खलङगा गाउँपालिका ४ घर भई काठमाडौँको फुटुङ बस्ने वर्ष १६ की अनिसा केसी, कैलाली भजनिया नगपालिका ३ घर भई ललितपुरको भैसेपाटी बस्ने वर्ष २५ वर्षकी कल्पना चौधरी, सुनसरीको धरान उपमहानगरपालिका ३ घर भई काठमाडौँको बनस्थली बस्ने वर्ष २२ की मन्दिरा बस्नेत पनि घाइते भएका छन्।
यस्तै अन्य घाइते हुनेमा ललितपुर महानगरपालिका २२ बस्ने वर्ष ४० की मीना थापा, कैलाली घोडाघोडी गाउँपालिका घर भई काठमाडौँको सीतापाईला बस्ने वर्ष १९ की रिजा रेस्मी मगर र रोल्पा घर भई कोशी प्रदेश तालिमकेन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्रहरी जवान पृथ्वी बुढामगर रहेका प्रहरीले जनाएको छ।
भीडमा चेपिएर घाइते भएकालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलले बताए ।
Share on Twitter