अफताव आलमविरुद्ध परेको मुद्दामा अन्तिम सुनुवाइ
काठमाडौं:ज्यान मार्ने उद्योगमा पक्राउ परेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमविरुद्ध परेको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
उनलाई रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको आरोप लगाइएको छ । आलमको मुद्दामा आज पेसी तोकिएपनि कसको इजलासमा सुनुवाइ हुन्छ भन्ने टुंगो १० बजे कार्यालय खुलेपछि गोलाप्रथाबाट लाग्ने जिल्ला अदालत रौतहटका श्रेष्तेदार उद्धव ढोडारीले जानकारी दिए ।
२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमलाई लागेको छ । सो घटनामा प्रहरीले २०७६ सालमा पुनः अनुसन्धान गरेको थियो ।
उनीमाथि १८ कात्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा मुद्दा दायर भएको थियो । यो मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।
पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध आलमले उच्च अदालत वीरगञ्जमा पुनरावलोकनका लागि निवेदन दिएका थिए । उच्च अदालतले २४ माघ २०७६ मा जिल्लाको आदेश सदर गरेपछि आलम सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले गत २३ वैशाखमा धरौटीमा रिहा हुनुपर्ने माग अस्वीकार गरेको थियो । यो मुद्दामा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित ११ जना प्रतिवादी छन् । अभियोगपत्रमा आलमलाई ४५ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।
Share on Twitter