दाङ बस दुर्घटनामा मुत्यु भएका १२ जनाकै सनाखत
काठमाडौं:दाङ बस दुर्घटनामा मुत्यु भएका १२ जनाकै सनाखत भएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौंकालागि छुटेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।
दुर्घटनामा मुत्यु हुने १ महिलासहित ११ पुरुषको सनाखत भएको हो । मुत्युहुनेमा बाँके नेपालगन्ज निवासी ६० वर्षीय कुसुम बस्नेत, मकवानपुर हेटौँडा निवासी ३९ वर्षीय सौरव विष्ट, काठमाडौँ चन्द्रागिरी नगरपालिका–१५ निवासी ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्ला श्रीढुस्का–९ निवासी ४० वर्षीय मुनबहादुर बस्नेत, बाँके निवासी ३० वर्षीय रामबहादुर हरिजन, रुकुम गोतमकोट निवासी २५ वर्षीय दिपक कामी, भारत विहार निवासी ६७ वर्षीय योगेन्द्र राम, भारत उत्तर प्रदेश निवासी ३१ वर्षीय अतिकुल्ला खैरे, बाँके खजुरा–३ खजुरा निवासी २५ वर्षीय. सञ्जय केसी, चितवन भरतपुर महानगरपालिका–२५ निवासी ३५ वर्षीय अनिल खड्का, भारत निवासी ४५ वर्षीय चेतराम शिल्पकार र बाँके खजुरा गाउँपालिका–३ निवासी २८ वर्षीय अर्जुन थापा रहेका छन् । नमस्ते यातायात प्रालिको उक्त बसमा चालकसहित ३७ जना सवार थिए ।
जसमध्ये ६ महिला र १८ जना पुरुष गरी २४ जना घाइते भएका छन् । प्रहरीका अनुसार चौराहा अस्पताल बुटवलमा ८, मेडिकल कलेज कोहलपुर बाँकेमा १३ र सिटी अस्पताल बुटवलमा एक, राप्ती पोलिक्लिनिक भालुवाङमा एक, प्रस्तावित भालुवाङ अस्पतालमा एक जना बिरामीको उपचार भइरहेको छ ।
घाइतेमध्ये ९ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले बताए । बस चालक सल्यान त्रिवेणी गाउँपालिका–४ निवासी २८ वर्षीय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
Share on Twitter