नेपालमा पहिलो पटक ३ वर्षीय बालकमा कलेजो प्रत्यारोपण सफल
काठमाडौं:शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आज तीन बर्षीय बालकको कलेजो प्रत्यारोपण सफल भएको छ । केन्द्रका निर्देशक अंग प्रत्यारोपणविज्ञ डा. पुकार चन्द्रको श्रेष्ठको नेतृत्वमा बीरगञ्ज पर्साका ती बालकको कलेजो प्रत्यारोपण भएको हो ।
बालकलाई लागि उनकी ३० बर्षीया आमाले कलेजो दान गरेकी हुन् ।‘ती बालकलाई कलेजोको क्यान्सर (हेपाटो ब्लास्टोमा) भएको रहेछ । अभिभावकहरु बालकलाई लिएर भारत समेत जानु भएको रहेछ । प्रत्यारोपणका लागि ठूलो रकम खर्च हुने भनिएपछि पुन नेपाल फर्कनु भयो । हामीकहाँ आउनु भयो र प्रत्यारोपण गरियो । अहिले बच्चाको स्वास्थ्य अवस्था सामान्य छ,’ टोलीको नेतृत्व गरेका डा. श्रेष्ठले भने ।
प्रत्यारोपणका लागि सघाउन भारतको दिल्लीस्थित म्याक्स अस्पतालका डाक्टर सुवास गुप्ताको टोली आएको छ । कलेजो प्रत्यारोपण, अंग प्रत्यारोपणमा सबैभन्दा जटिल मानिन्छ । केन्द्रमै नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो । केन्द्रमा १७ जनाको कलेजो प्रत्यारोपण भएको छ ।
Share on Twitter