कोसी प्रदेशमा दलहरुको बैठक जारी, सभामुखको टुङ्गो लगाउने तयारी
काठमाण्डौं : कोसी प्रदेशमा प्रतिनिधित्व गर्ने दलको बैठक बसीरहेको छ । सभामुखको टुङ्गो लगाउन कोसी प्रदेशसभा सचिवालयमा प्रमुख दलहरूको संसदीय दलको बैठक चलिरहेको हो । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठक भने भर्खरै सकिएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले दलको बैठक पनि जारी छ । नेपाली कांग्रेस संसदीय दलको बैठकले सभामुख चयन प्रक्रिया लगायत विषयमा छलफल गर्ने सांसद अमृत अर्यालले जानकारी दिए ।
यता राप्रपाले भने दलीय सहमतिको आधारमा सभामुख पद लिने निर्णय गरेको छ । दलको मंगलबार बिहान बसेको बैठकले सो निर्णय गरेको एक सांसदले बताए । उम्मेदवार टुङ्गाएका छौँ ती सांसदले भने कार्यसूची तय नभएसम्म सार्वजनिक गर्दैनौँ ।
बैठकमा राप्रपा प्रदेश समितिका सभापति राम थापा सहित पदाधिकारसमेत सहभागी थिए । सत्ता गठबन्धनले सभामुख राप्रपालाई दिएर अघि बढ्ने तयारी गरिरहेको छ । पार्टीले सभामुखमा अम्बर विष्टलाई अगाडि सार्ने तयारी गरेको बुझिएको छ।
एमालेले पनि सभामुखको विषयमा छलफल गर्ने प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । आज बस्ने संसद्को बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्थाको बैठक पनि बसिरहेको छ ।
Share on Twitter