त्रिवि उपकुलपतिको विज्ञापनमा ल्लेखित प्रावधान सच्चाएर पुनः प्रकाशित गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं:प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि प्रकाशित गरेको विज्ञापनमा उल्लेखित प्रावधान सच्चाएर पुनः प्रकाशित गर्न निर्देशन दिएका छन् । आज शुक्रवार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई कार्यकक्षमा बोलाएर प्रधानमन्त्रीले विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् ।
विश्वविद्यालयले आज प्रकाशित गरेको विज्ञापनले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै प्रधानमन्त्री प्रचण्डले त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को विज्ञापन निकाल्न निर्देशन दिएका हुन् । शुक्रवार छनोट तथा सिफारिस समितिका तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नुपर्ने उल्लेख थियो ।
त्यही सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र अन्य योग्यलाई अयोग्य बनाउनेप्रति आफ्नो चासो रहेको भन्दै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्णरूपले खुला गरी अर्को विज्ञापन प्रकाशित गर्न मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जो–कोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्नसक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन पनि शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।
Share on Twitter