क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर
काठमाडौं:क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ड.ठहर गरेको हो ।
न्यायाधीश ढकालले आदेशमा पीडितको दाजुले दिएको जाहेरी दर्खास्त, सन्दीप लामिछानेको बयान, विभिन्न व्यक्तिहरुको घटना विवरण कागज, निजहरुको बकपत्र लगायत सीसीटीभी फुटेजबाट काठमाडौंदेखि नगरकोट गई पुन काठमाडौं आएर होटलको एउटै कोठामा बसेको देखिएको निष्कर्ष छ ।
एउटै कोठामा बसेको बेला सन्दीपले आफूलाई बलात्कार गरेको गौशाला २६ को दाबी रहेको भन्दै अदालतको संक्षिप्त फैसलामा भनिएको छ । सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ । प्रहरीले गौशाला २६ नाबालिग भएकाले त्यसअनुसार दाबी गरेको थियो ।
तर न्यायाधीश ढकालले पीडितलाई नाबालिका भन्न नमिल्ने राय लेखेका छन् । विभिन्न निकायको पत्र र कागजात प्रमाणबाट २०६१ असार १८ गते जन्म भएकाले घटनाका दिन पीडितको उमेर १८ वर्ष पुगिसकेको भन्दै नाबालिकामाथि बलात्कार भएको आरोप स्थापित हुन नसक्ने ठहर गरेका हुन् ।
अब लामिछानेले थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाउने भएका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ अनुसार उनले यो सुविधा पाउने भएका हुन् । जाहेरवाली किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगिसकेको कारण लामिछानेलाई अधिकतम १० वर्ष कैद सजाय हुने र सो बापत हुनसक्ने अधिकतम जरिवाना र कैदवापतको रकम पनि धरौटीमा रहेको कारण उनी थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाउने भएका हुन् ।

Share on Twitter