घट्दै छ स्तनपान गराउने आमाहरूको दर
काठमाडौं : नेपालमा पूर्ण स्तनपान गराउने आमाहरूको दर घट्दै गइरहेको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण को तथ्याङ्क अनुसार स्तनपान गराउने आमाहरूको संख्या घट्दो रहेको देखिएको हो ।
पूर्ण स्तनपान नगराउनेमा शिक्षित आमाहरू नै बढी रहेको पाइएको छ । परिवार कल्याण महाशाखा पोषण महाशाखाले काठमाडौंमा आयोजना गरेको आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको (बिक्री वितरण नियन्त्रण)ऐन, २०४९ सम्बन्धी पत्रकारहरूसँगको बहस पैरवी कार्यक्रममा पोषण शाखा प्रमुख लिला विक्रम थापाले शिक्षित आमाहरूले पूर्ण स्तनपान कम गराउने गरेको पाइएको जानकारी दिए ।
औपचारिक शिक्षा नलिएका ५९ प्रतिशत आमाहरूले पूर्ण रूपमा स्तनपान गराएको पाइएको छ । यस्तै आधारभूत शिक्षा लिएका ६१ प्रतिशत आमाहरूले पूर्ण स्तनपान गराएको तथ्याङ्कमा उल्लेख छ । यस्तै माध्यमिक शिक्षा लिएका ५३ प्रतिशत आमाले मात्र पूर्ण रूपमा स्तनपान गराएको तथ्याङ्क रहेको थापाले जानकारी दिए ।

पूर्ण रूपमा स्तनपान गराउने आमाहरूको दर बर्सेनि घट्दो देखिएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले नेपालमा पूर्ण रूपमा स्तनपान गराउने आमाहरूको दर घटेको देखाएको छ ।
१९९६ मा ७५ प्रतिशत आमाहरूले पूर्ण रूपमा स्तनपान गराएकोमा सन् २०२२ मा आइपुग्दा ५६ प्रतिशत आमाहरूले मात्र पूर्ण रूपमा स्तनपान गराउने गरेको पाइएको थापाले जानकारी दिए । यस्तै सन् २०२२ को तथ्याङ्क अनुसार शिशु जन्मेको १ घण्टा भित्रै स्तनपान गराउनेको संख्या ५५ प्रतिशत छ । शिशु जन्मेदेखि २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या ९४ प्रतिशत रहेको छ ।

पूर्ण स्तनपानको अवस्था सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिममा ७४ प्रतिशत छ भने सबैभन्दा कम लुम्बिनीमा ३६ प्रतिशत रहेको छ । उक्त तथ्याङ्क अनुसार नेपालमा बोतल पान गराएका शिशुको संख्या २२ प्रतिशत रहेको छ भने प्रदेशगत रूपमा बागमतीमा सबैभन्दा बढी (४३ प्रतिशत) र कर्णालीमा सबैभन्दा कम (११ प्रतिशत) रहेको छ ।
नेपालमा ५ वर्ष मुनीका २५ प्रतिशत बालबालिकाहरू पुड्कोपन, ८ प्रतिशत ख्याउटेपन, १९ प्रतिशत कम तौल र ४३ प्रतिशत रक्त अल्पताबाट ग्रसित छन् । पूर्ण रूपमा स्तनपान गराउन सकेमा यस्ता समस्या कम हुँदै जाने थापाले बताए । उनले आमाको दूधलाई प्रतिस्थापन गर्ने कुनै खानेकुरा नभएको बताए ।
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ र नियमावली, २०५१ का प्रावधानहरूको कार्यान्वयन गरी स्तनपानलाई संरक्षण र संवर्द्धन गर्ने कार्य भइरहेको उनको भनाइ छ । सरकारले पनि स्तनपानलाई बढवा दिन सबै सरकारी कार्यालयमा स्तनपान कक्ष स्थापना गरेको बताए ।
यस्तै कार्यक्रममा परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीका वरिष्ठ वाल रोग विशेषज्ञ डा शैलेन्द्रवीर कर्माचार्यले बच्चा जन्मिएको कम्तीमा ६ महिनासम्म बच्चालाई आमाको दूध मात्र खुवाउनुपर्ने बताए । बच्चा जन्मिएको २ वर्षसम्म अन्य खानेकुरा सँगसँगै आमाको दूध पनि पर्याप्त मात्रामा खुवाउन सबै आमाहरूलाई प्रेरित गर्नुपर्ने उनको भनाइ छ ।
उनले अस्पतालहरूमा नै स्तनपानबारे जानकारी दिने जनशक्तिको व्यवस्थापन गरेर स्तनपान बारे जनचेतना बढाउनुपर्ने बताए । आमाको दूध आएन भनेर स्तनपान गराउन छाड्न नहुने बताए । बच्चाले आमाको स्तन चुस्दा दूध बनाउने हर्माेन सक्रिय हुने समेत उनको भनाइ छ ।
साथै स्तनपान गराउन शरीरको बनावटमा कुनै असर नपर्ने भएकाले स्तनपान गराउँदा ढुक्क हुन आग्रह गरे । राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले स्तनपानको महत्त्वबारे विद्यालयको पाठ्यक्रममै समावेश गरेर लैजानुपर्नेमा जोड दिए।
कार्यक्रममा परिवार कल्याण महाशाखामा कार्यरत स्त्रीरोग विशेषज्ञ डा.गौरी प्रधानले स्वास्थ्य संस्थाहरूमा शिशुलाई स्तनपानबारे जनचेतना बढाउन आवश्यक रहेको बताइन् । जनचेतनाकालागि पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने उनले बताइन् ।
Share on Twitter