स्वास्थ्य सेवा ऐन अनुसार नै उमेर हद कायम गर्न चिकित्सक संघको माग
काठमाडौं:नेपाल चिकित्सक संघले पदपूर्ति सम्बन्धी विज्ञापनमा स्वास्थ्य सेवा ऐन अनुसार नै उमेर हद कायम गर्न लोक सेवा आयोगको ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्ष डा अनिलबिक्रम कार्कीको नेतृत्वमा गएको टोलीले विहीबार लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।
संघीय निजामती सेवाको गठन, सञ्चालन, सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ को दफा १८ मा उम्मेदवार हुनका लागि योग्यता को उपदफा (ग) बमोजिम पुरूष उम्मेदवारको हकमा ३५ बर्ष र महिला उम्मेदवारको हकमा ४० बर्ष उमेर पूरा नभएको मापदण्डमा नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ ।
यो मापदण्डले स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई निरूत्साहित गराएको विज्ञप्तिमा उल्लेख छ ।
साथै स्वास्थ्य सेवा ऐन २०५३ को भावना र मर्म विपरित प्रकाशन भएका विज्ञापन रोकी संशोधन गर्न तथा भावी दिनमा प्रकाशित गरिने पदपूर्ति सम्बन्धी विज्ञापनमा स्वास्थ्य सेवा ऐन बमोजिम नै उमेर हद कायम रहने व्यवस्था मिलाउन आयोगको ध्यानाकर्षण गराएको जनाइएको छ ।
स्वास्थ्य सेवामा काम गर्ने कर्मचारीको उमेर हदका विषयमा एक रुपता कायम गर्ने र स्वास्थ्य सेवा ऐन बमोजिम उमेर हद ४५ बर्ष कायम गर्न पनि आयोगको ध्यानाकर्षण गराएको छ ।

Share on Twitter