केकी अधिकारी र प्रदीप खड्काले गरे कानुन विपरित मदिराको विज्ञापन
काठमाडौं: जनस्वास्थ्य सेवा ऐन २०७५ ले स्वास्थ्यका लागि हानिकारक रहेको मदिरालगायत स्वास्थ्यका लागि प्रतिकुल वस्तुको प्रचार सामाग्री उत्पादन, वितरण र प्रचार तथा प्रसारणमा रोक लगाएको छ ।
तर यतिबेला नेपाली फिल्मका कलाकार केकी अधिकारी र प्रदीप खड्काले मदिराको प्रचार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । केकी र प्रदीपको यो कदम कानुन विपरित रहेको पाइएको छ । उनीहरुले आफ्नो फेसबुक पेजमार्फत् एक मदिराको ब्रान्डको विज्ञापन गरेका हुन्।
आफूलाई उक्त मदिराको ब्राण्ड एम्बेस्डर बताएका दुबै कलाकारले उत्कृष्ठ भन्दै टेष्ट गर्न अपिल गरेका छन् । केकी अधिकारी विज्ञापनमा भन्छिन्, ‘यो उत्कृषट छ भन्ने मलाई विश्वास छ। तपाईंहरुले टेस्ट गर्नुभएको छैन भने छिटै टेस्ट गर्नुहोस्, यसबारेमा कुरा गर्न तपाईँहरुको शहर आउँदै छु ।’
त्यसको बढाइचढाइ गर्दै अर्का ‘ब्रान्ड एम्बेस्डरु खड्काले ‘कुलीन र सम्भ्रान्त’ भनेको हामी नेपाली हौँ भन्दै त्यसलाई मदिरासंग जोडेका छन् । उनले आफूलाई उक्त मदिरा ‘उत्कृष्ट’ भएको विश्वास रहेको बताउँदै अरुलाई पिउन सिफारिस गरेका छन्।
जनस्वास्थ्यलाई प्रभावित पार्ने विज्ञापन तथा प्रचार प्रसार शिर्षक रहेको ऐनको दफा ४५ को उफदफा १ ले उक्त कार्य निषेध गरेको छ । जहाँ भनिएको छ, ’मदिरा, चुरोट, सुर्ती तथा सूर्तिजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन।’
यसैगरी उपदफा २ मा मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवा तर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न नपाइने प्रस्ट रुपमा उल्लेख गरिएको छ। उक्त ऐनलाई नजरअन्दाज गर्दै कलाकारद्वयले उक्त विज्ञापन गरेका हुन्।
कानुन विपरित विज्ञापन गरेको विषयमा कलाकारद्वयलाई गरिएको फोन सम्पर्क गरिएको थियो । तर, उनीहरुसँग सम्पर्क हुन सकेन। उक्त ऐन विपरित कार्य गरेमा १० हजारसम्म जरिवाना गरिने कानुनी प्रावधान छ।
Share on Twitter