मेडिकल अंकोलोजिष्ट डा. अरुण शाहीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार
काठमाडौं:एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले हरेक बर्ष प्रदान गर्दै आइरहेको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार यस वर्ष मेडिकल अंकोलोजिष्ट डा. अरुण शाहीले प्राप्त गरेका छन् ।
पर्वतको पैंयु गाउँपालिकास्थित हुवासमा आज सोमबार आयोजित विशेष समारोहमा गतवर्षका बिजेता डा. शेरबहादुर पुनले डा. शाहीलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२३’ प्रदान गरेका हुन् । पुरस्कारको राशी ५१ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।
यसअघि पुरस्कारका लागि नाम सिफारिस समितिको सिफारिस बमोजिम क्यालिफोर्नियामा गत ५ डिसेम्बरमा बसेको एसोसिएशनको सचिवालय बैठकले डा. शाहीलाई यसवर्षको अन्तराष्ट्रिय स्वास्थ्य सेवा पुरस्कारद्वारा सम्मान गर्ने निर्णय गरेको थियो ।
एनआरएनएले डा. शाहीलाई मानव स्वास्थ्यका लागि चुनौती बनिरहेको क्यान्सरबाट जोगाउन सामाजिक सञ्जाल, सञ्चारमाध्यम, राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनारमार्फत तथ्यगत तथा प्रामाणिक सूचना जानकारी प्रवाह गर्ने कार्यमा सक्रिय रहेको साथै क्यान्सरका बिरामीहरुको उपचारमा अहोरात्र खटेको कामको मूल्यांकन गर्दै यो पुरस्कारप्रदान गरेको जनाएको छ । पुरस्कार वितरण समारोहलाई एसोसिएशनको नेपालस्थित साझेदार संस्था देउराली फाउण्डेशनले व्यवस्थापन गरेको हो ।
Share on Twitter