मृत्यु पश्चात अंग दान गर्न प्रधानमन्त्री दाहालको अपिल
काठमाडौं:प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अंग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाउन आग्रह गरेका छन् । शनिबार बिहान काठमाडौंमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले मरेपछि गरिने अंगदानबारे सचेतना जगाउनुपर्ने बताए ।
उनले भने, ‘सबै दाजुभाइ दिदीबहिनीहरूमा म आह्वान गर्दछु–मरेपछि खरानी भएर जाने अंगहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन्। मानव हुनुको नाताले कलेजो, मृगौला, मुटु, फोक्सो लगायतका अंग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो। तसर्थ, अंग प्रत्यारोपणको यस राष्ट्रिय अभियानबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा हार्दिक अपिल गर्दछु।’
यस्तै उनले राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि जग्गा उपलब्ध गराउने कुरा छिट्टै टुंगिने बताए । आफ्नो दोस्रो प्रधानमन्त्रीत्वकालमै राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई बिस्तार गर्न जग्गा उपलब्ध गराउने निर्णय गरेको स्मरण समेत गराए । गत वर्ष पनि यसबारे प्रतिवद्धता व्यक्त गरिसकेकाले यही कार्यकालमा बाँकी काम टुंगोमा पुऱ्याउन सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।
Share on Twitter