पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पुन नियुक्त
काठमाडौं:पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकका लक्ष्मी पुन नियुक्त भएकी छन् । यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि पुस एक गते सकिएपछि सरकारले पुनलाई नियुक्त गरेको हो ।
पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को सोमबारको बैठकले उनलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । पुनले बिहीबार पदभार ग्रहण गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको पद नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सचिव सरहको पद हो ।
पुन द वाकर अनलाइनको सञ्चालक तथा सम्पादक रहेकी पुन प्रेस सेन्टर नेपालको सल्लाहकार पनि हुन् । उनी नेपाल पत्रकार महासंघका सचिव, प्रेस सेन्टर नेपालको उपाध्यक्ष, पूर्व गृहमन्त्री जनार्दन शर्माको प्रेस सल्लाहकारसमेत भइसकेकी छन् ।
सञ्चालक परिष्दको सदस्यमा राष्ट्रिय योजना आयोगको संस्कृति हेर्ने सदस्य, पशुपतिनाथ मन्दिरको मूलभट्ट, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव, गृह मन्त्रालयको सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव, काठमाडौं महानगरपालिकाको प्रमुख, गुठी संस्थानको अध्यक्ष वा प्रशासक सदस्य रहने व्यवस्था छ ।
यस्तै अध्यक्षबाट संस्कृतिविज्ञ र धार्मिक पर्यटन विज्ञमध्येबाट मनोनीत बढीमा सात जना सदस्य, अध्यक्षबाट मनोनित व्यक्ति कोषाध्यक्ष र अध्यक्षबाटै मनोनीत व्यक्ति सदस्य–सचिव रहने व्यवस्था छ ।
Share on Twitter