कांग्रेस संस्थापनइतरको बैठक सर्यो, शेखर-गगनको विभाजन टर्यो
काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक सरेको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बुधबार सोही समयका लागि सरेको हो । इतर पक्षको बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६/१९का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुने छ ।
नेता शेखर कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने परिस्थिति बनेपछि बैठक सारिएको बुझिएको छ । महामन्त्री थापाले मंगलबारका लागि बारामा आफ्नो निर्धारित कार्यक्रम रहेको भन्दै बैठकमा सहभागी हुन नसक्ने बताएका थिए ।
नेता अरजुनरसिंह केसीले सत्तापन इतर पक्षलाई सामुहिक ढंगले अगाडि बढाउन बुधबारका लागि बैठक सारिएको रातोपाटीलाई बताए । भोलि गगनजीको उपत्यका बाहिरको कार्यक्रम रहेछ । सबै मिलेर सामूहिक रुपमा छलफल गर्नुपर्छ भन्ने दृष्टिकोणका साथ भोलिको सट्टा पर्सी एक बजे बैठक बस्छ , उनले भने, हामी सबै एककै ठाउँमा हुन्छौं ।
नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले पनि मंगलबारको बैठक बुधबारलाई सरेको बताए । नेता कोइराला र महामन्त्री थापा पक्षका नेताहरुले मंगबारकोको बैठकलाई बुधबार सारेर समूहलाई विभाजत हुनबाट रोकेको देखिन्छ ।
१५ औं महाधिवेशनमा सभापतिको तयारीमा रहेका नेता कोइराला र महामन्त्री थापाको सम्बन्ध समधुर भने छैन । केन्द्र र प्रदेशको मन्त्री छनोटमा पनि नेता कोइराला र महामन्त्री थापाबिच विवाद देखिएको थियो । नेता कोइरालाले सभापति शेरबहादुर देउवासँग समूहगत भन्दा पनि व्यत्तिगत डिल गरिरहेको थापाको आरोप थियो ।
कांग्रेसका ९ जना मन्त्री संघीय सरकारमा पुग्दा समेत महामन्त्री गगन थापा ‘पावर एक्सरसाइज’भन्दा बाहिर रहे । पुस १० मा बनेको एमाले नेतृत्वको गठबन्धन भत्काएर कांग्रेसलाई सत्तामा ‘कमब्याक’ गराउन निर्णायक भूमिका खेलेका थापा मन्त्री छनोटमा प्रभावहीन बने ।
मन्त्री छनोटमा सभापति देउवा र नेता शेखर कोइरालाको दोहोरो उपेक्षा भोग्नु परेको उनको गुनासो छ । कोशी प्रदेशमा एमालेको समर्थनमा केदार कार्की मुख्यमन्त्री बन्दा नेता कोइराला र महामन्त्री थापाबिचको सम्बन्ध धुमिलो बन्यो । संस्थापन इतर पक्षकै कार्कीलाई मुख्यमन्त्री बनाउने सन्दर्भमा नेता कोइरालाले बेवास्ता गरेको महामन्त्री थापाको गुनासो थियो ।
सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबिचको संवादबाट कोशीको विद्रोह व्यवस्थापन भएपनि उनीहरुबीच संवादहीनताको अवस्था छ ।
विगतदेखि कोइराला र थापाबिच आशंका र अविश्वासपूर्ण सम्बन्धन चलिरहेको छ । २०७९ पुस ६ मा संसदीय दलको निर्वाचनबाट कोइराला र थापाबिचको सम्बन्ध लयमा थियो । इतर पक्षको नेताले समूह जोगाउन दबाब दिएपछि कोइराला दलको नेतामा बाध्य भएर थापाको प्रस्तावक बनेका थिए । सभापति देउवासँग दलको नेतामा भिड्दा कोइरालाबाट प्राप्त सहयोग नपाएको थापाको गुनासो थियो ।
कात्तिक २ मा प्रेस युनियन काठमाडौँको शुभकामना आदान–प्रदान कार्यक्रममा कोशी प्रकरणलाई सङ्केत गर्दै महामन्त्री थापाले देउवालाई भोट हालेर फोटो देखाउनेले नै अहिले विद्रोहको कुरा गरेको आरोप लगाएका थिए ।
संसदीय दलको निर्वाचनमा आफूले ३६ मत पाउने हिसाब भए पनि २५ मत मात्र पाएको भन्दै देउवाको विकल्प खोज्न खुट्टा कमाएकाहरूले नै अहिले विद्रोहको कुरा गरेको उनको भनाइ थियो ।
यस्तै, मन्त्री नियुक्ति लगायतका सन्दर्भमा कोइरालाले सभापति देउवासँग एकलौटी डिल गरेको थापाको गुनासो थियो । विपक्षी खेमाको नेतृत्वको रूपमा कोइराला दह्रो खुट्टा नटेक्दा सभापति देउवासँग संघर्ष फितलो हुन पुगेको थापाको बुझाइ छ ।
असोज १४ मा काठमाडौँको राष्ट्रियसभा गृहमा आयोजित कांग्रेस रूपान्तरण अभियानको कार्यक्रमले कोइराला र थापाबिचको अविश्वासको डोरी थप तन्काउने काम गरेको थियो । नेता कोइराला र महामन्त्री थापाको सहमतिमा कार्यक्रम तय भएको थियो । तर, अन्तिममा पार्टीको ब्यानर बाहिरको कार्यक्रममा सहभागी नहुने भन्दै कोइरालाले बहिष्कार गरिदिएका थिए ।
कोशीमा एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाउने कोइरालाले महामन्त्री थापासँग संवाद नै गरेका थिइनन् । उक्त कुरा नेता कोइरालाले पनि रातोपाटीसँग कुराकानीमा स्वीकार गरेका थिए । नेता कोइराला र महामन्त्री थापाबिचको दुरी बढाउन मुख्यमन्त्री कार्कीको पनि भूमिका देखिन्छ ।
मुख्यमन्त्री बन्नुअघि र पछि पटक–पटक काठमाडौँ आए पनि कार्कीले पनि महामन्त्री थापालाई कहिल्यै भेटेनन् । काठमाडौँ आएर मुख्यमन्त्री कार्कीले सभापति देउवा, नेता कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीको निवाससम्म पुगेर भेटेका थिए ।
महामन्त्री थापाले आफूलाई मुख्यमन्त्री हुनबाट रोक्न भूमिका खेलेको मुख्यमन्त्री कार्कीको बुझाइ छ । ओखलढुंगाको जिल्ला सम्मेलनमा महामन्त्री थापाकै अगाडि मुख्यमन्त्री कार्कीले चर्को विरोध गरेका थिए । कोइरालाले भावी सभापतिका भएको घोषणा गरेका मुख्यमन्त्री कार्कीले महामन्त्रीहरुको भूमिका अपरिपक्क रहेको बताएका थिए ।
कांग्रेसका जिल्ला सम्मेलनमा पनि नेता कोइराला र महामन्त्री थापा समूह विभाजित भइरहेको छ । कोइराला सहभागी केही जिल्ला सम्मेलन महामन्त्री थापा निकटले बहिस्कार गरिदिएको थिए । बुधबार नेता कोइराला र थापा एक ठाउँमा उभिएपनि उनीहरुको सहयात्रा शंकापूर्ण नै छ ।
इतर पक्षमा विश्व-प्रदीपको इन्ट्री अनिश्चित
मंगलबारको बैठकबारे महामन्त्री थापासँग छलफल नगरेका नेता कोइरालाले शर्मा र पौडेललाई निम्तो नै नपठएको पाइएको छ । महामन्त्री थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई समेत इतर समूहमा जोड्न कोइरालामाथि दबाब दिएका थिए ।
असोज २ गते बैठकमा कोइरालाले शर्मा र पौडेललाई समेत बैठकमा डाकेका थिए । आफूसँग आन्तरिक परामर्श नगरी एकैचोटि बैठकमा बोलाएको भन्दै शर्मा गएनन् भने पौडेल पनि अनुपस्थित रहे । असोज २ मा बसेको इतर पक्षको बैठकमा वातावरण मिलाएर अर्को बैठकमा महामन्त्री शर्मा र नेता पौडेललाई बोलाउने सहमति भएको थियो । शर्मा र पौडेलले आफूहरुलाई बैठकबारे जानकारी नभएको बताए ।
महामन्त्री शर्मा १४ औँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएर विजयी भएका थिए । तर अहिले उनी नेता सिंहसँग मात्रै सीमित छैनन् । शर्माले पार्टीको संसदीय दलको निर्वाचनमा भने अर्का महामन्त्री गगनकुमार थापालाई सघाएका थिए ।
त्यसयता उनी निरन्तर महामन्त्री थापासँग नजिक रहेर काम गरिरहेका छन् । यस्तै नेता पौडेल १४ औँ महाधिवेशनमा सभापति शरेबहादुर देउवाको प्यानलबाटै महामन्त्रीको उम्मेदवार भने थिए । महाधिवशेनमा पराजित भएपछि भने पौडेलले देउवा र सिटौला दुवैको साथ छोडेका छन् ।
संसदीय दलको निर्वाचनमा महामन्त्री थापाको समर्थन बनेका पौडेल त्यसयता थापासँगै सहयात्रा गरिरहेका छन् । १५ औं महाधिवेशनमा नेतृत्व लिने गरी अगाडि बढेका थापाले शर्मा र पौडेलसँगको सम्बन्धन कसिलो बनाएको पाइन्छ ।
Share on Twitter