महतो र झाको बहिष्कारपछि एक दिनमै सकियो लोसपाको बैठक
काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले दुई दिनका लागि तय गरेको केन्द्रीय समितिको बैठक आइतबार एक दिनमै सम्पन्न गरेको छ । यसअघि मङ्सिर २४ र २५ गते बस्ने गरी दुई दिनका लागि केन्द्रीय समितिको बैठक बस्ने तय गरिएको थियो । तर पार्टीको आन्तरिक विवाद बाहिर आएपछि बैठकलाई एक दिनमै सम्पन्न गरिएको हो ।
पार्टीका अध्यक्ष महन्थ ठाकुरप्रति असन्तुष्टि जनाउँदै सो पार्टीका वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अनिल झाले आजको केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए । आजको बैठकमा बोल्ने अधिकांश नेताहरूले यही विषयमा केन्द्रित भएर धारणा राखेका थिए ।
धारणा राख्ने अधिकांश नेताहरूले वरिष्ठ नेता महतो बैठकमा नआएकोमा चिन्ता जाहेर गरेका थिए । पार्टीमा कुनै विवाद वा समस्या छन् भने पनि बैठकमा आएर समाधान गर्नुपर्ने उनीहरूले बताएका थिए । आन्तरिक विवादबारे बाहिर हल्ला गरेर पार्टीको बदनाम भएको पनि कतिपयको धारणा थियो ।
पार्टीका वरिष्ठ नेता एवं श्रममन्त्री शरतसिंह भण्डारीले पार्टीमा कुनै समस्या छ भने छलफल र संवादबाट समाधान गर्नुपर्ने बताउँदै बाहिर हल्ला गरेर मात्र समस्या समाधान नहुने धारणा राखेका थिए ।
सबैले बैठकमा आएर आफ्नो कुरा राख्दा उचित हुने थियो भन्ने उनको धारण थियो । उनले भनेका थिए, ‘केन्द्रीय समितिमा अझै ९० जनालाई राख्ने ठाउँ बाँकी नै छ । राखे भइहाल्यो नि । यदि त्यसले पुगेन भने थप्न पनि मिलिहाल्छ । सबै असन्तुष्ट वा पद चाहिने जतिलाई केन्द्रीय सदस्य बनाइदिए हुन्छ ।’
बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा नेता भण्डारीले पदाधिकारीदेखि लिएर अन्य विषयमा भएको निर्णयहरू कार्यान्वयन गर्नुपर्नेमा त्यसमा ढिला भएको स्वीकार गरेका थिए । ‘त्यसलाई समयमा कार्यान्वयन गरेको भए यो समस्या आउने नै थिएन,’ उनको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘अहिले पनि केही बिग्रेको छैन । गर्नुपर्ने काम चाँडै गरिहाल्नुपर्छ ।’
उपाध्यक्ष लक्ष्मणलाल कर्णले पनि पार्टी निकै सुस्त भएको गुनासो गरेका थिए । पार्टीमा असन्तुष्टि बढ्नु स्वाभाविक भए पनि त्यसलाई संवाद र छलफलका माध्यमबाट समाधान गर्नुपर्ने धारणा राख्दै उनले केन्द्रीय समिति विस्तार गर्न बाँकी छ भने त्यसलाई पूर्णता दिन कसले रोकेको छ भन्दै प्रश्न गरेका थिए । ‘पार्टीमा जे सहमति भएको छ त्यसलाई कार्यान्वयनमा लगियो भने यस्तो समस्या आउँदैन,’ उनले अहिले नेता महतोले उठाएको विषयमा संवाद गरेर समाधान गर्न आग्रह गरे ।
महासचिव केशव झाले पनि नेता महतोले उठाएको कुरामाथि गम्भीर हुन अध्यक्ष ठाकुरलाई आग्रह गरेका थिए । ‘पार्टीको केही कुराप्रति असन्तुष्टि जनाउँदै नेता महतो बैठकमा अनुपस्थित हुनुभएको छ । त्यसले गलत सन्देश गएको छ । यसलाई पार्टीभित्र समाधान गर्न आग्रह गर्दछु,’ उनले भने ।
सचिव मनिष मिश्रले पार्टी बनाउनका लागि सैद्धान्तिक रूपमा क्रियाशील बनाउन आग्रह गरे । ‘अब पार्टी परम्परागत तरिकाले चल्दैन । समाज रूपान्तरण भइसकेको छ,’ उनले भने, ‘लोसपामा थुप्रै नेता हुनुहुन्छ, अनुभवी नेताहरू हुनुहुन्छ । सबैलाई क्रियाशील बनाएर काममा लगाउनुपर्छ ।’
उता कैलालीकी नेतृ रुपा थारुले आफूलाई राजेन्द्र महतोको मान्छे भनेर पार्टीमा भेदभाव गरिएको गुनासो गरिन् । यसअघि आफू पार्टीका कार्यकारिणी सदस्य रहेको तर अहिले केन्द्रीय सदस्यमा झारेको उनको गुनासो थियो । उनले आफूलाई पदाधिकारीमा नराखेर केन्द्रीय सदस्यमा किन राखेको रु भन्दै त्यसको जवाफ आफूलाई चाहिने बताइन् ।
आजको बैठकमा करिब २५ जनाले आफ्नो कुरा राखेका थिए । अन्य नेताहरू पनि बैठकमा धारणा राख्न चाहे पनि अध्यक्ष ठाकुरले पुसमा हुन गइरहेको विस्तारित बैठकमा सबैले कुरा राख्न पाउने भन्दै बैठक स्थगित गरेका थिए ।
बैठकमा प्रस्तुत गरेका छलफलका नौ बुँदे एजेन्डा सर्वसम्मतिले पास भएको छ ।
Share on Twitter