मोरङ कारागारमा थुनुवाको रहस्यमय मृत्यु
जिल्ला कारागार मोरङमा पुर्पक्षको लागि थुनामा रहेका एक जना बन्दीको रहस्यमय मृत्यु भएको छ । उनको मृत्युपछि आफन्तले सत्य तथ्य छानबिनको माग गरेका छन् ।
पुर्पक्षको लागि थुनामा रहेका मोरङको लेटाङ–४ घर भएका ४० वर्षीय केशर बहादुर भुजेलको बिहीबार बेलुका झन्डै साढे ५ बजेतिर उपचारको क्रममा कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको थियो । भुजेलको मृत्युको घटनालाई उनका परिवारले रहस्यमय मृत्यु भएको भन्दै छानबिन समिति गठन गरी सत्य तथ्य सार्वजनिक गर्न माग राखेका छन् । भुजेलको शव पोस्टमार्टम हुन अझै सकेको छैन ।
भुजेलको मृत्यु हुनुभन्दा एक घण्टा अगाडि ४ बजे मृतकका भान्जी एलिना भुजेललाई खबर गएको थियो ।
‘मामालाई भेट्न मङ्सिर १६ गते कारागारमा आएको थिएँ । त्यस दिन मामाको जन्मदिन पनि थियो । त्यसैले म कारागार आएको थिएँ । त्यस बेला मामा राम्रोसँग बोल्नुभएको थियो । घरबाट बनाएर ल्याएको मासु खानुभयो । घरायसी विषयमा पनि कुराकानी भयो । त्यसयता पनि फोनमा कुराकानी भइरहेको थियो । एक्कासि बिहीबार मामा बितेको खबर आउँदा मलाई पत्याउन पनि मुस्किल भयो,’ उनले भनिन्, ‘मामा बिरामी भएर हस्पिटल ल्याएको खबर भएन । एक्कासि मृत्यु भएको खबर मात्र आयो ।’
मृतकका परिवारले शव गृहमा राखिएको शव पनि हेर्न नदिएकोले भुजेलको मृत्यु शङ्कास्पद गएको गुनासो गरेका छन् ।
‘श्रीमानको मृत्यु भएको खबर सुनेपछि हस्पिटल आएका थियौँ । हस्पिटलमा पोस्माटर्मको लागि शव राखिएको रहेछ । हामीलाई शव हेर्न पनि दिइन । कतै श्रीमानलाई कारागारभित्र कुटपिटको कारणले पो मृत्यु भएको हो कि हाम्रो शङ्का छ,’ भुजेलकी श्रीमती रामकुमारी भुजेलले भनिन्, ‘शव हेर्न पनि नदिनु रु ढिलो गरी परिवारलाई खबर दिनु, केही दिन अगाडि मज्जासँग कुराकानी भएको श्रीमान्को एक्कासि कसरी मृत्यु भयो रु घटना रहस्यमय छ । घटनाको छानबिन गरिनुपर्दछ,’ उनले भनिन्, ‘न्यायिक छानबिन समिति गठन गरेर घटनाको सत्य तथ्य बाहिर ल्याउनुपर्दछ ।’
जिल्ला प्रशासन कार्यालय मोरङले छानबिन समिति गठन गरेपछि मात्र पोस्टमार्टम गर्नुपर्ने मृतक परिवारको माग छ । ‘अहिलेसम्म शव बुझेका छैनौँ । हेर्न पनि दिएका छैनन् । कि त बेडमा हुनुपर्थ्यो, कि त बेडभन्दा तल हुनुपर्थ्यो । किन मुर्दा घाटमा लगियो भनेर हामी भोली निवेदन दिने भन्ने सल्लाह गरेका छौँ,’ भान्जी एलिनाले भनिन् ।
मोरङ कारागारका जेलर कृष्णहरि न्यौपानेले मगरको उपचारको क्रममा मृत्यु भएको बताए । ‘साह्रै पेट दुख्ने र बान्ता गरेपछि हामीले तत्काल हस्पिटल लिएर गएका थियौँ । उपचारको क्रममा मगरको मृत्यु भएको हो,’ उनले भने, ‘एक पटक मृतकका भान्जीलाई शव देखाएको पनि हो ।
परिवारका सदस्य आए प्रहरीको रोहबरमा देखाउन सकिन्छ । त्यसको लागि मोरङ प्रहरीसँग समन्वय गरिनेछ ।’ कारागारबाट कुनै पनि लापरबाही नभएको उनको भनाइ छ । मोरङ कारागारमा शुक्रवारसम्म ९४७ पुरुष र ९५ महिला गरी १ हजार ४२ जना कैदी बन्दी रहेका छन् ।
Share on Twitter