नेपालगञ्ज मेडिकल कलेजमा ‘ब्रेन एन्यूरिज्म’ को शल्यक्रिया सफल
काठमाडौं:नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नर्सिङ होममा ‘ब्रेन एन्यूरिज्म’ भनिने मस्तिष्कको नसा सम्बन्धी दुर्लभ र जटिल शल्यक्रिया सफल भएको चिकित्सकहरुले बताएका छन् । दिमागको रक्त नली फुलेर बेलुनजस्तो हुँदै फुटेर आन्तरिक रक्तश्राव हुनुलाई ‘ब्रेन एन्यूरिज्म’ भनिन्छ ।
न्यूरोसर्जनत्रय डा.मनिष कोलाक्षपति, डा.निरज घिमिरे र डा.सुवोध गौतमको टोलिले भजनी नगरपालिका–२ कैलालीका ४३ वर्षीय अट्वारी चौधरीको सफलतापूर्वक शल्यक्रिया गरेको हो ।यसअघि दाङ दंगीशरण गाउँपालिकाकी ५३ वर्षीया खगा श्रेष्ठको पनि ‘ब्रेन एन्यूरिज्म’को सफलतापूर्वक शल्यक्रिया गरिएको थियो ।
साउन २८ गते अस्पतालबाट डिस्चार्ज भएकी खगाको स्वास्थ्य सामान्य रहेको जनाइएको छ । चौधरीलाई गएको असोज ३० गते ब्रेन एन्यूरिज्मको लक्षण देखिएको थियो । चिकित्सकले अवस्था जटिल भनेपछि काठमाडौं की लखनउ लैजान सुझाव दिए । परिवारले लखनउको स्टार हस्पिटलमा लगे ।
चार पाँच दिन स्टार अस्पताल राखेपछि चिकित्सकले मेजर शल्यक्रिया गर्नुपर्ने र ४–५ लाख भारतीय रुपैयाँ लाग्ने भनेपछि चौधरीलाई लखनउबाट फर्काएर मंसिर ६ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना गरिएको उनका जवाई बासुदेव चौधरीले बताए । न्यूरोसर्जन मनिष नेतृत्वको टोलिले मंसिर १३ गते चौधरीको ५ घण्टा लगाएर सफलतापूर्वक शल्यक्रिया गरेको डा.मनिष कोलाक्षपतिले बताए ।

डा.मनिष कोलाक्षपति
शल्यक्रिया पछि चौधरीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । नेपालगन्ज मेडिकल कलेजले काठमाडौंस्थित अन्नपूर्ण अस्पताल (अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेस)सँगको सहकार्यमा नेपालगन्ज र कोहलपुरमा न्यूरो सेवा दिन थालेपछि जटिल खालका शल्यक्रिया हुन थालेका छन् ।
पश्चिम नेपालका बिरामीलाई न्यूरोसाइन्सको क्षेत्रमा उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिइएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कुमार अधिकारीले बताए ।
Share on Twitter