वीरको निर्देशकबाट हटाएपछि डा सन्तोषको आक्रोश : मन्त्री बस्नेतको कदमले ‘लोकतन्त्र लजायाे
काठमाडौं:वीर अस्पतालको निर्देशकबाट हटाइएपछि डा सन्तोष पौडेल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसँग रुष्ट बनेका छन् । जिम्मेवारीबाट हटाइएपछि सामाजिक सञ्जाल मार्फत आक्रोश व्यक्त गरेका छन् । मन्त्री बस्नेतको कदमले ‘लोकतन्त्र नै लजाएको’ उल्लेख गरेका छन् ।
आफूलाई पदबाट हटाइएको पत्र सामाजिक सञ्जाल फेसबुकमा राख्दै डा. पौडेलले आफू दुई वर्षको अवधि तोकेर नियुक्ति पाएको तर राजनीतिक आस्थाको आधारमा निर्देशकबाट हटाइएको र एक जना हाड जोर्नीको विशेषज्ञ सर्जनलाई मन्त्रालयमा तानेर मन्त्रीले ‘हर्कत’ देखाएको बताएका छन् ।
उनले तत्कालीन अधिनायक राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई प्रमबाट हटाउँदा निर्वाचन गराउन नसकेको अक्षम भन्ने आरोप लगाएर हटाएको इतिहास छ भन्दै आफूलाई कुनै आधार विना नै पदबाट हटाएको उल्लेख गरेका छन् ।
निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा पौडेल नेपाल कम्युनिस्ट पार्टी एमालेको सदस्य र जनसङ्गठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आवश्यक कार्यार्थका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो। सोही पत्रपछि मन्त्री बस्नेतले बिहीबार डा पौडेललाई मन्त्रालयमा तान्ने निर्णय गरेका हुन् ।
वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन पौडेललाई गत फागुनमा तत्कालीन स्वास्थ्य मन्त्री पदम गिरीले वीर अस्पतालको निर्देशकमा नियुक्त गरेका थिए।दुई वर्षे कार्यकालका लागि नियुक्त भएका पौडेलको पदावधि अझै झन्डै १५ महिना बाँकी छ ।
Share on Twitter