वीर अस्पतालका निर्देशक डा. पौडेल मन्त्रालय तानिए
काठमाडौं:चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का निर्देशक डा. सन्तोष पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएका छन् ।
निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा पौडेल नेपाल कम्युनिष्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आवश्यक कारबाहीको लागि स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो ।

स्वास्थ्य सेवा ऐन, २०५३ दफा ९२ (क) को व्यवस्था अनुसार कार्यालय प्रमुख भएको र आठौं तह भन्दा माथिको व्यक्ति ट्रेड युनियनमा आवद्ध हुन पाइदैन । तर १० औँ तहका डा. पौडेल एमालेमा क्रियाशील रहेको र उक्त पार्टीको जनसंगठनको महासचिव रहेको भनी आयोगमा उजुरी परेको थियो ।
आयोगले ७ मंसिरमा वीर अस्पतालका कार्यकारी निर्देशक डा पौडेल नेपाल कम्युनिष्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आवश्यक कारबाहीको लागि स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले बिहिबार पौडेललाई वीर अस्पतालको निर्देशकबाट मन्त्रालय तानेका हुन्।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी पौडेललाई मन्त्रालयमा हाजिर हुन भन्दै तानिएको बताए ।
यस्तै, राष्ट्रिय सतर्कता केन्द्रले पनि गत कात्तिक १ गते डा. सन्तोष पौडेललाई आवश्यक कारबाहीको लागि स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको थियो । वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन पौडेललाई गत फागुनमा तत्कालीन स्वास्थ्यमन्त्री पदम गिरीले वीर अस्पतालको निर्देशकमा नियुक्त गरेका थिए।दुई वर्षे कार्यकालका लागि नियुक्त भएका पौडेलको पदावधी अझै झण्डै १५ महिना बाँकी छ ।
Share on Twitter