‘महिनावारी विभेद’ हिंसाको मूल जड
काठमाडौं:’लैङ्गिक हिंसा र बालविवाह अन्त्यको लागि मर्यादित महिनावारी’ भन्ने मूल नाराका साथ पाँचौँ मर्यादित महिनावारी दिवस नेपालमा पनि मनाइने भएको छ ।
दक्षिण गोर्लादिय मर्यादित महिनावारी सञ्जाल, राधा पौडेल फाउन्डेसनले प्लान इन्टरनेशनल नेपालको सहकार्यमा डिसेम्बर ८ मा विशेष कार्यक्रमसहित यो दिवस मनाउन लागेको हो ।आज काठमाडौंमा पत्रकार सम्मेलन गरी दिवस मनाउन लागेको जानकारी दिइएको छ ।
समाजले महिनावारीलाई हेर्ने दृष्टिकोण बदल्न र मर्यादित महिनावारीको आन्दोलनमा जनचेतना जगाउँदै त्यसमा सकारात्मक परिवर्तन प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो दिवस मनाउन लागेको राधा पौडेल फाउन्डेसनकी अध्यक्ष राधा पौडेलले जानकारी दिइन् । महिनावारी विभेद हिंसाको मूल जड भएकाले यो विभेद अन्त्य गर्नु आजको आवश्यकता भएको बताइन् ।
महिनावारी विभेदको सवालमा काम गर्नै सबै जना एकजुट भएर महिनावारीलाई मर्यादित बनाउनुपर्ने उनले बताइन् । यस्तै प्लान इन्टरनेशनलका प्रतिनिधि निराजन खड्काले महिनावारी विभेदबाट उत्पन्न हुने हिंसाबारे सूक्ष्म अध्ययन हुन जरुरी रहेको बताए । अहिले सम्म नीति र जनचेतनामा काम भए पनि यसबारे थप अध्ययन जरुरी रहेको बताए । नेपालमा मनाइने दिवसमा विश्वभरिका १५ भन्दा बढी देशबाट भर्चुअल रूपमा सहभागिता रहनेछ।
कार्यक्रममा मर्यादित महिनावारीमा युवाको भूमिका विषयमा नीतिसम्वाद हुनेछ। बालविवाह र महिनावारी विभेद विरुद्धको कवितासँगै कार्यक्रम सुरु हुनेछ । दिवसको अवसरमा मर्यादित महिनावारी बारे पहिलो प्रशिक्षण पुस्तिका मर्यादित महिनावारीका १५ सवालमा पत्रकारहरुले लेखेको फेलोसिप किताब पनि विमोचन गरिनेछ। मर्यादित महिनावारीका विषयमा भएको अन्तर्राष्ट्रिय चित्रकला प्रतियोगिता र राष्ट्रिय निबन्ध प्रतियोगिताका विजेता घोषणासमेत गरिनेछ ।
संयुक्त राष्ट्र संघले घोषणा गरेको १६ दिने अभियानको १४ औँ दिन, डिसेम्बर ८ लाई अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको रूपमा मान्यता दिन संयुक्त राष्ट्र संघको महासभामा दबाब दिइँदै आएको छ। यस पटक पनि दक्षिण गोलर्दिय मर्यादित महिनावारी सञ्जालले नेपाल भ्रमणका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई ज्ञापन पत्र दिएको थियो।
Share on Twitter