आम्दा अस्पतालका मेसु बस्यालमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न चिकित्सक संघको माग
काठमाडौं:नेपाल चिकित्सक संघले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न माग गरेको छ।
संघका महासचिव डा सन्जिब तिवारीले आज विज्ञप्ति जारी गर्दे चिकित्सकमाथी भएको आक्रमण प्रति निन्दा व्यक्त गरेका छन् । उपचारको क्रममा कुनै त्रुटी भएको शंका लागेमा कानूनी प्रक्रियामा जाने, सत्यतथ्य छानबिन गरी कानून बमोजिमको दण्ड सजायको भागिदार जोसुकै हुने कानूनी प्रावधान विपरीत स्वास्थ्यकर्मी, बिरामी तथा सर्वसाधारणल नै आतंकित हुने गरी घटाइएको घटनाले स्वास्थ्य सेवाप्रवाहमा गम्भीर असर पुगेको विज्ञप्तिमा उल्लेख छ।
संघले दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र पहिलो संशोधन ऐन २०७९ बमोजिम अबिलम्ब छानबिन गरी कानूनी कारबाही गर्न समेत माग गरेको छ ।

गुल्मी सत्यवती गाउँपालिका ठूलो लुम्पेमककी अन्दाजी ३५ वर्षीया भवानी राष्कोटी मगरको प्रसूतिपछि मृत्यु भएपछि आफन्तले डाक्टर बस्यालमाथि कुटपिट गरेका हुन् ।
कुटपिटबाट घाइते भएका बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । बस्याल खतरामुक्त छन् । सोमबार शल्यक्रियामार्फत पाँच किलोग्रामको बच्चा जन्माएकी भवानीलाई मंगलबार हृदयघात भएर मृत्यु भएको आम्दा अस्पतालका प्रशासन प्रमुख खगेन्द्र क्षेत्रीको दाबी छ ।
भवानीको मृत्युपछि आक्रोशित मृतकका आफन्तले क्षतिपूर्ति बापत ५० लाख माग गरेका छन् । त्यति ठूलो रकम दिने अवस्था नभएको बताएपछि मेसु बस्यालमाथि कुटपिट भएको क्षेत्रीले बताए । मेसु बस्यालमाथि कुटपिटमा संलग्न भएको आरोपमा ७ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिए ।
Share on Twitter