क्षयरोगीको खोजी र उपचारमा नेपाल क्षयरोग निवारण संस्था
काठमाडौं:नेपाल क्षयरोग निवारण संस्थाका अध्यक्ष मदनकाजी श्रेष्ठले क्षयरोग निवारणकालागि जनचेतना बढाउनुपर्ने बताएका छन् ।
७० औँ राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले क्षयरोग निवारणकालागि सबै जना क्रियाशील हुनुपर्ने बताएका छन् ।
नेपालमा क्षयरोगको अवस्था जटिल रहेकाले संस्थाले प्रतिरोधात्मक र उपचारात्मक सेवा प्रवाह गरिरहेको जानकारी दिए ।उनले क्षयरोगीको पहिचान गरेर सहज रूपमा उपचार सेवा दिनु आजको आवश्यकता भएको औँल्याए ।
यस्तै कार्यक्रममा संस्थाका महासचिव राजन श्रेष्ठले नेपाल क्षयरोग निवारण संस्थाले समुदायमा रहेका क्षयरोगका बिरामीलाई परीक्षण, उपचार र जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको बताए । समुदायमा अवहेलना सहनुपर्ने भन्ने डरले अझै पनि बिरामीहरू खुलेर उपचारमा आउन नसकेको बताए ।
रोगबारे जनचेतना जगाउँदै समुदायमा भएका क्षयरोगीहरूलाई उपचारको दायरामा ल्याउन सबैको सहयोग आवश्यक पर्ने उनको भनाइ छ । हालसम्म ३६ जिल्लामा संस्थाको शाखामार्फत क्षयरोगीको खोजी गरी उपचार गराइरहेको उनले बताए । संस्थाले संचालन गरेको अस्पतालमा आर्थिक वर्ष २०७९/८०मा १६ हजार २ सय ९० जनाले ओपिडी सेवा लिएका छन् । यस्तै २ सय २८ जनाले अस्पतालमा भर्ना भएर उपचार गराइरहेको बताइएको छ ।
बुधवारको कार्यक्रममा कार्यसम्पादन उत्कृष्ट गर्ने शाखा तथा कर्मचारीलाई पुरस्कृत समेत गरिएको छ । जसमा जिल्ला शाखा तर्फ सर्लाही शाखा उत्कृष्ट बनेको छ भने स्वयंसेवी तर्फ दोलखा जिल्ला शाखाका सभापति हर्क बहादुर श्रेष्ठ पुरस्कृत भएका छन् ।
यस्तै सोही अवसरमा चार जना कर्मचारीहरूलाई समेत पुरस्कृत गरिएको छ । जसमा अञ्जली श्रेष्ठ,आइतराम प्रजा,लुमाकान्त बुढामगर, गायत्री खतिवडा रहेका छन् । यस्तै कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य स्वर्गीय मदनकृष्ण मैनाली प्रति श्रद्धाञ्जली समेत अर्पण गरिएको थियो ।
क्षयरोग माइकोब्याक्टीरीयम ट्युबरक्युलोसिस नामक जीवाणुका कारण लाग्ने रोग हो। यो उक्त जीवाणुबाट प्रभावित मानिसले खोक्दा वा हाछ्युँ गर्दा निस्किने साना कणबाट अरू मानिसमा सर्ने सम्भावना उच्च रहन्छ।
Share on Twitter