चिकित्सा शिक्षा ऐनमा भएका राम्रा पक्षलाई अनुसरण गर्नुपर्छ: स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौं:स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शास्त्रको सुधारकालागि आफूले पहल थालेको बताएका छन् ।
नेपाल चिकित्सक संघको आयोजनामा आइतबारदेखि राजधानीमा सुरु भएको तेस्रो एनएमए नेशनल हेल्थ समिटको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा जनशक्तिको अभाव हुन नदिन चिकित्सा शिक्षा ऐन संशोधन गरेर चिकित्सा शास्त्रमा कोटा बढाउन लागेको जानकारी दिए ।
चिकित्सा शिक्षा ऐनमा भएका राम्रा पक्षलाई अनुसरण गर्दै ऐनले समेट्न नसकेका विषयलाई संशोधन गरेर अघि बढ्नुपर्ने बताए । यो क्षेत्र सुधारकालागि आफूले हिम्मत गरेको उनको भनाइ छ । गुणस्तरीय स्वास्थ्य सेवा पाउने जनताको मौलिक हकलाई स्थापित गराउन चिकित्सकहरूको सहयोग आवश्यक पर्ने समेत बताए ।
आफू राजनीतिक व्यक्ति भएकाले यो क्षेत्रमा सुधारकालागि आवश्यक पर्ने सुझाव दिन उनले चिकित्सकहरूलाई आग्रह गरेका छन् । स्वास्थ्यमा दरबन्दी बढाउन पहल गरिसकेको बताउँदै त्यसको परिणाम चाडै देखिने दाबी गरे। काम गर्ने जाँगर कायम रहेकै बेला उमेर हदका कारण अवकाश प्राप्त गरेका विज्ञ चिकित्सक र स्वास्थ्यकर्मीहरुले पनि आफ्नो थप सेवा प्रदान गर्न सकुन् भन्ने ध्येयले आफूले ३०० बेड भन्दा माथिका अस्पतालहरूमा एमबिबिएसको पठन पाठन गर्न सक्ने निर्णय गरेर क्याबिनेटमा पठाएको मन्त्री बस्नेतले जानकारी दिए।
१०० देखि ३०० बेडसम्मका अस्पतालमा नर्सिङ र पारामेडिक्स पठाउन सकिने निर्णय गरेकोले त्यसमा नेपाल चिकित्सक संघले सहयोग गर्नु पर्ने मन्त्री बस्नेतले बताए। राम्रो काम गर्दा गर्दै पनि बदनाम गर्न एक गिरोह पछि लागेको दाबी गर्दै राम्रो काम गर्दा कुनैको पनि डर मान्नु पर्ने अवस्था नरहेकोमा जोड दिए ।
Share on Twitter