नेपालको उच्च शिक्षा चुनौतीपूर्ण सङ्घारमा : प्रधानमन्त्री प्रचण्ड
काठमाण्डौ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण सङ्घारमा उभिएको बताएका छन् ।धुलिखेलमा आयोजित ‘उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण’ बारे उपकुलपतिहरूको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शिक्षा क्षेत्रमा राज्यले गर्ने लगानी पर्याप्त नभएको स्वीकार गरे ।
गुणस्तरीय प्राविधिक एवम् व्यावसायिक उच्च शिक्षा प्रदान गर्न आवश्यक भौतिक एवम् डिजिटल पूर्वाधार, दक्ष जनशक्ति र शिक्षापछिको रोजगारीका अवसर सिर्जनाका लागि ठुलो लगानी आवश्यक रहेको उनको भनाइ छ ।
सम्बोधनको क्रममा प्रचण्डले भने–ुमुलुकले लगानी गरेर उच्च अध्ययन गराएका र विश्वविद्यालय शिक्षामा प्रवेश गर्न तयार पारेका जेहेन्दार युवाहरू नै मुलुक छोडेर बाहिरिइरहेका छन् । नेपालमा विश्वविद्यालयहरू खोल्न जत्रो होड छ, त्योभन्दा ठुलो मात्राको सङ्कट पर्याप्त विद्यार्थीको अभावले निम्त्याउँदै छ । यस परिस्थितिमा खासगरी पूर्ण सरकारी अनुदानमा चल्ने सबै विश्वविद्यालयहरूले यो चुनौतीलाई सुधारको अवसरका रूपमा लिनुपर्दछ ।
उच्च शिक्षालाई प्रत्यक्ष दलगत राजनीतिको क्रिडास्थल हुन दिन नहुने प्रस्ताव कार्यान्वयन गर्न मुलुकका सबै प्रमुख राजनीतिक दलहरुको पहल, सहकार्य र समान सोचको आवश्यकता रहेको प्रचण्डको भनाइ छ ।
Share on Twitter