भारतले दिएको चामल लिने की नलिने सरकार संकटमा
काठमाडौं : नेपालमा पयाप्त अन्न उत्पादन नभएको देखिन्छ । वर्षै पिच्छे सरकारले छिमेकी देश भारतवाट चामल ल्याउने गरेको छ । २०८० जेठमा भारतले नेपाल लगायत मुलुकमा निर्यात हुने बासमती बाहेकको चामलको निर्यातमा रोक लगायो । भारतको उक्त निर्णय लगत्तै नेपाली बजारमा चामलको मूल्य वृद्धि भयो । बजारमा यदाकदा चामल अभाव भएको चर्चा चुलिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मूल्य स्थिरीकरण गर्न भनेर भारतसँग १ लाख मेट्रिक टन चामल माग्यो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पटक-पटक आग्रह गरेर माग गरे पनि भारतले २६ असोजमा आएर बल्ल ९५ हजार टन चामल दिने निर्णय गर्यो । असारमा माग भएको चामल तीन महिनापछि असोजमा आयो त्यो पनि ५ हजार टन कम’ मन्त्रालयका एक अधिकारी भन्छन्, अभाव हुने बेलामा भारतले चामल निर्यात रोक्यो ।’
उनले भने ‘अब देशभरका किसानले धान भित्र्याउने बेलामा भारतले चामल दिन्छु भनेको छ । ल्याउने कि नल्याउने भन्नेबारे हामी छलफलमा छौं ।’
कात्तिक २३ गतेबाट मन्त्रालयले भारतले दिएको ९५ हजार टन चामल ल्याउने कि नल्याउने भनेर छलफल चलाउन सुरु गरेको छ । आफैंले फलाएको चामलले हाम्रो माग धान्दैन ? भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्रकुमार ठाकुर भन्छन्, ‘हाम्रो उत्पादनले मुश्किलले १० महिना खान पुग्छ । त्यसबाहेक नेपालमा नयाँ खुलेका मदिरा उद्योग लगायतलाई पनि चामलको आवश्यकता छ । यसका लागि पनि चामल आयात गर्नुपर्ने अवस्थामा मुलुक छ ।’
Share on Twitter