प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय
काठमाडौं:त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई जिल्ला अदालत काठमाडौंले २ वर्ष कैद सजाय सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले कुटपिटमा संलग्न र कुटपिट गर्न लगाउने सबैलाई सजाय र जरिवानाको फैसला सुनाएको हो ।
उनीहरुमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।न्यायाधीश विनोद खतिवडाको इजलासले नेपाल विद्यार्थी संघ त्रिवि इकाइका तत्कालिन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरलाई उपप्राध्यापक चलाउनेको ज्यान मार्न खोजेको आरोपमा दोषी ठहर गरेको हो ।उनीहरुबाट पीडितलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश समेत गरेको छ ।
आरोपित दीपक ओझाले भने सफाइ पाएका छन् । आरोपितमध्ये हरि आचार्य हाल अमेरिकामा छन् । २०७७ कात्तिक २० गते काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा दर्ता भएको उक्त मुद्दामा अदालतले ज्यान मार्ने उद्योग नभई कुटपिट र अङ्गभङ्गमा दोषी ठहर गरेको हो ।
काठमाडौँ जिल्ला अदालतले आक्रमणकारीले टाउकोमा प्रहार नगरेको र ज्यान मार्ने उद्योगभन्दा पनि शरीर अङ्गभङ्ग गराउने उद्देश्यले आक्रमण गरिएको र गराइएको भन्दै उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १९२ को उपदफा ५ बमोजिमको सजाय सुनाइएको हो ।
Share on Twitter