सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने स्वास्थ्य मन्त्रालयको प्रस्ताव
काठमाडौं:स्वास्थ्य मन्त्रालयले एक सयदेखि ३ सय बेड सम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने प्रस्ताव गरेको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य क्षेत्रका जनशक्ति बढाउन सरकारी अस्पतालहरुलाई उपयोग गर्न लागेको बताए । मंगलबार मन्त्रालयस्तरबाट उक्त प्रस्ताव अघि बढाएको उनले बताए ।
पढाउन सक्ने अस्पतालहरूसंग कुन बिषय अध्यापन गराउन सकिने भन्नेबारे राय मागिएको बताए । उनले भने, ‘पारामेडिक्स र नर्स पढाउन ती अस्पतालमा जनशक्ति पुग्छ भन्ने हामीलाई लागेको छ । संरचनामा अलिकति थपघट गर्नुपर्ने होला । पढाउनका लागि आवश्यक जनशक्ति र संरचनाको विषयमा अस्पतालसँग राय मागेका छौं ।’
सहमतिका लागि चिकित्सा शिक्षा आयोगलाई पत्र लेखिसकेको मन्त्री बस्नेतले उल्लेख गरेका छन्। यसैगरी ३ सय भन्दामाथि बेडका अस्पतालमा एमबीबीएस पढाउनका लागि पनि अनुमति दिने विषयमा छलफल भइरहेको उनले बताए । चिकित्सा शिक्षा ऐनले यसमा बाधा पार्ने अवस्थामा ऐन संशोधनको तयारी समेत भइरहेको उनले बताए ।
प्रस्ताव पठाउनु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल र आफ्नो पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेको उनले बताए । यो योजना सफल बनाउन सहयोग गर्न मन्त्री बस्नेतले अपिल गरेका छन् । यो परियोजना सफल भएमा नेपाललाई मेडिकल हब बनाउन सकिने दाबी गरे । अहिले मेडिकल शिक्षाकालागि बाहिरीने रकम स्वदेशमै रोकिने उनको विश्वास छ । यस्तै विदेशी विद्यार्थीहरु नेपाल आउदा राज्यलाई आर्थीक लाभ हुने उनले बताए ।
केही दिनमै अस्पतालहरुबाट सुझाव आएपछि त्यसमा छलफल गरेर अघि बढ्ने मन्त्री बस्नेतले बताए । यस्तै स्वास्थ्यमा जनशक्ति बढाउनसमेत पहल थालेको उनको भनाइ छ । विंस २०५२ पछि स्वास्थ्यमा जनशक्ति नबढेको उल्लेख गर्दै आफूले त्यसमासमेत पहल गरिरहेको उनले बताए।
पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव डा रोशन पोखरेलले सरकारसँग भएको संरचना र जनशक्तिको उपयोग गर्न छलफल थालेको बताए। स्वास्थ्य मन्त्रालयले स्वास्थ्य शिक्षामा पहल थालेको रूपमा बुझ्नुपर्ने उनको भनाइ छ।
Share on Twitter