होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मुत्यु
काठमाडौं:पोखराको नागढुंगास्थित एक होटलमा मंगलबार अचेत अवस्थामा भेटिएकी महिलाको मुत्यु भएको छ । सोही ठाउँकै शिला रेस्टुरेन्टमा काम गर्दै आएकी तनहुँ भिमादकी ३८ वर्षीया सुकु विक नागढुंगास्थित युनिक होटलमा मंगलबार साँझ करिब ७ बजेको अचेत अवस्थामा फेला परेकी थिइन् ।
उनलाई अचेत अवस्थामा होटलबाट उद्धार गरेर चरक मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको थियो । तर, उपचारकै क्रममा साँझ करिब साढे ७ बजे मृत्यु भएको हो ।
प्रहरीका अनुसार दिउँसो विक र एक जना पुरुष होटलको कोठामा प्रवेश गरेका थिए । कोठामा प्रवेश गरेको केही समयमै पुरुष बाहिरिएको र महिला साँझसम्म ननिस्किएपछि होटल सञ्चालकले खोजी गर्दा अचेत अवस्थामा फेला परेका थिइन् । विकको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको कास्की प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद रहेको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले बताए ।
होटलमा सिसीटीभी समेत नभएको र कोठा बुक गर्दा कुनै परिचयपत्र नराखिएको पाइएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसज्धान भइरहेको छ । अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Share on Twitter