जाडो बढेसँगै इन्फ्लुएन्जाको जोखिम, फ्लू बाट कसरी बच्ने?
काठमाडौं : जाडोयाममा मानिसलाई रुघाखोकीले अत्यधिक सताउने गर्छ । तर, सामान्यजस्तो देखिने यस्ता रुघाखोकी गम्भीर प्रकृतिका समेत हुन सक्छन् ।
यसलाई इन्फ्लुएन्जा भाइरस पनि भनिन्छ । दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको सङ्क्रमण बढी हुने गर्दछ ।
इन्फ्लुएन्जा (फ्लू) भनेको के हो ?
इन्फ्लुएन्जालाई बोलीचालीको भाषामा फ्लू भनिन्छ । यो इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने संक्रामक रोग हो । जाडो महिनामा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धा समेत सबै उमेरका व्यक्तिहरुलाई फ्लू लाग्न सक्छ ।
फ्लू कसरी सर्छ ?
फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ । ती छिटा सासबाट फोक्सोमा पनि जान सक्छन् । भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक हुँदा पनि फ्लू लाग्न सक्छ ।
फ्लूका लक्षण के हुन् ?
• ज्वरो आउनु
• खोकी लाग्नु र घाँटी दुख्नु नाक बन्द हुनु
• टाउको दुख्नु
• नाक बन्द हुनु वा सिँगान बग्नु
• जिउ र मांसपेशी दुख्नु
• थकान महसुस हुनु
( फ्लू भएका सबैलाई ज्वरो नआउन पनि सक्छ )
फ्लू रोकथाम कसरी गर्ने ?
• बिरामी भएका व्यक्तिहरुसँग भौतिक दूरी राख्ने
• सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने
• खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने
• बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
• शारीरिक रूपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने
• आफ्नो आँखा, नाक वा मुख नछुने
फ्लू भएका अधिकांश व्यक्तिहरुलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधिहरु आवश्यक पर्दैन । दीर्घ रोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लूले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिले स्वास्थ्यकर्मीको निगरानी वा सम्पर्कमा रहनुहोला ।
Share on Twitter