काष्ठमण्डपमा अञ्जली दिदीले लगाइदिइन् २०० जनालाई भाइटीका
काठमाडौँ : काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डपमा अञ्जली मास्के ९अञ्जली दिदी०ले दिदीबहिनी नभएका दाजुभाइलाई भाइटीका लगाइदिएकी छन् ।
विसं २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आएकी अञ्जली दिदीले बुधबार करिब दुई सय जना दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिइन् ।
अञ्जली दिदीसँग टीका लगाउन विभिन्न उमेर समूहका दाजुभाइ काष्ठमण्डपको मरु सत्तलमा भेला भएका थिए । काष्ठमण्डपमा सामूहिक टीकाका लागि एक सय ५० बढी मण्डप बनाइएको अञ्जलीले जानकारी दिइन् । दिदीबहिनी नभएका दाजुभाइको निधार खाली नहोस् भनेर आफूले तिहारको टीका लगाइदिएको उनको भनाइ छ ।
आफूले यही स्थानमा निरन्तर २५ वर्षदेखि सामूहिक भाइटीका लगाइदिँदै आएको जानकारी दिँदै अञ्जलीले यस वर्ष पनि उही सम्मान, माया र निःस्वार्थ भावले टीका लगाइदिन पाउँदा अत्यन्त खुसी भएको बताइन् । अञ्जली दिदीले २५ वर्षसम्म निरन्तर आफूसँग तिहारको टीका लगाउने दाजुभाइलाई विशेष उपहार प्रदान गरेकी थिइन् ।
Share on Twitter