नेपाल संवत् शुभारम्भ
काठमाडौँ :नेपाल संवत् नयाँ वर्षका अवसरमा काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले वसन्तपुरमा सांस्कृतिक अर्केष्ट्रा प्रस्तुत गरेको छ । महानगर स्वर्णिम योजनाको ‘सांस्कृतिक महानगर’ कार्यक्रम कार्यान्वयन गर्दै अर्केष्ट्रा प्रस्तुत गरिएको पर्यटन महाशाखा प्रमुख श्रीजु प्रधानको भनाइ छ ।
नासः सृष्टि कलासँगको सहकार्यमा आयोजना गरिएको अर्केष्ट्रालाई बाद्य सम्राट न्हुच्छेबहादुर डङ्गोल र वरिष्ठ वाद्य गुरु धर्म मुनिकारले निर्देशन गरेका थिए । मुनिकार काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागमा कार्यरत छन् । उनकाअनुसार अर्केष्ट्रामा ११० जना कलाकारले २१ प्रकारका बाजामा १४ वटा प्रस्तुति दिएका थिए ।
प्रस्तुतिका लागि सकिएको बडादसैँ, दीपावली, नेपाल संवत्, यस पछिको मङ्सिर महिना, अहिलेको ऋतुसँग सम्बन्धित परम्परागत वाद्य प्रस्तुति समेटिएको थियो । कार्यक्रम थालनी गर्नुअघि कलाकारहरूले हनुमान ढोकाको लोह चोकमा वादन अभ्यास गरेका थिए ।
प्रस्तुतिमा द्यः ल्यायेगु (सङ्गीतका गुरुको प्रार्थना) बाट अर्केष्ट्रा सुरु गरिएको थियो । यसमा तग्वः धिमे मूल बाजा हो । यससँग भुस्याः र घौ बाजा बजाइएको थियो । धुन्याप्वः मा तग्वः धिमे, धुन्या चाःहिकेगु मुख्य बाजा तथा भुस्याः र घौ सहायक बाजाका रूपमा बजाइएको थियो ।
धुन्या ज्यापू समुदायका युवाहरूलाई १२ वर्षमा १ पटक प्रशिक्षण दिइन्छ । छोरीलाई गुफा राखेर सूर्य दर्शन गराए जस्तै छोराहरूलाई बलाछ्व्ये गराएर प्रशिक्षण दिने गरिएको सांस्कृतिक महानगर स्वर्णिम योजनाका सम्पर्क व्यक्ति धर्म मुनिकारले जानकारी दिए ।
निस्तेनाथ ग्वारा वसन्त ऋतुबाहेक अन्य ऋतुमा वादन तथा गायन गरिन्छ । दाफा सङ्गीतभित्र ग्वारा र चाली गरी २ प्रकारका गायत र वादन हुन्छ । यसको मुख्य बाजा खिं हो । यसका साथमा ताः, बबु र पोंगा बजाइन्छ । नेवार समुदायमा सगुन दिँदा, कसैलाई स्वागत गर्दा, फुलमाला गर्दा जस्ता शुभ कार्य गर्दा मंगल धुन बजाउने चलन छ ।
धिमे मुख्य बाजा र भुस्याः सहायक बाजा रहेको यो गायन तथा वादन वर्षौँदेखि जनबाद्य (सेतो मच्छिन्द्रनाथ) को भजन घरमा वादन र गायन गरिँदै आएको मुनिकारले जानकारी दिए । यसकारण यो धुनलाई सेतो मच्छिन्द्रनाथको धुन मान्न सकिने उनको तर्क छ । यी वादन तथा गायन प्रस्तुति अर्केष्ट्रामा राखिएको थियो ।
दसैँको कोजाग्रत पूर्णिमापछिको १ महिना धनाश्री जति राग वादन तथा गायन गर्ने चलन छ । यसअघिका करिब २ महिना (नेपाल संवत्अनुसार ञलाथ्व अष्टमीदेखि कोजाग्रत पूर्णिमासम्म) लामश्री धुन बजाउने तथा यस रागमा गाउने चलन छ । यसका लागि पछिमा मूल बाजा र ताः, झ्याली सहायक बाजाका रूपमा बजाइएको थियो । लसता म्ये ९बय्० प्रस्तुतिको अर्को विषय हो ।
यो नेपाल संवतका अवसरमा मैतीदेवी जात्रामा बजाइन्छ । जात्रा माली गाउँदेखि मैतीदेवी र मैतीदेवीदेखि माली गाउँसम्म चलाउने गरिएको छ । यसमा गायन हुँदैन, वादन मात्र हुन्छ । झीगु खः नेपाल संवत् बोलको गीत अर्केष्ट्रामा समेटिएको थियो । धाः मुख्य बाजा र धिमे सहायक बाजा रहेको यस प्रस्तुतिमा नेपाल संवत्का विषयमा चर्चा गरिएको छ ।
कान्है मैचा नेवार समुदायमा प्रेमरससँग सम्बन्धित गीत हो । नाय्खिं मुख्य बाजा र छुस्या सहायक बाजा बजाएर प्रस्तुत गरिएको यो प्रस्तुतिबाट मङ्सिर आउन लागेको, यसबेला विवाहका कुरा चल्ने, युवा युवतीले आपसी प्रेमालापका कुरा गर्ने विषय समावेश छ ।
ऐला लुवया गीत (नेपाल भाषामा गाइएको अहिलेको चर्चित गीत) लाई मादल मुख्य र ताः, झ्याली सहायक बाजाका रूपमा बजाएर प्रस्तुत गरिएको थियो । वा माया वा बालबालिकाको खेलसँग सम्बन्धित गीत हो । यसलाई दं मुख्य बाजा र ताः झ्यालीलाई सहायक बाजाका रूपमा बजाएर प्रस्तुत गरिएको थियो ।
जयजय भैरव नाथ इन्द्रचोकमा रहेको आकाश भैरवको आराधनाका लागि गाइने भजन हो । यसलाई कान्ता डबडब मुख्य बाजा, ताः झ्याली सहायक बाजाका रूपमा बजाइएका थिए । नेवार समुदायमा प्रचलित प्रेम गीत झन जक माया बोलमा धोलक मुख्य बाजा, ताः झ्याली सहायक बाजाका रूपमा बजाइएको थियो ।
सबै प्रदेश, जातजाति र भाषाभाषीको प्रतिनिधित्व गर्दै सय थरी बाजा एउटै बोलको गीतमा वादन प्रस्तुत गरिएको थियो । यसैगरी सवालजवाफ शीर्षकमा सबै बाजाहरूको प्रस्तुति राखिएको थियो । यी सबै बादनमा बाँसुरी र साङ्गी राखिएको थियो ।
Share on Twitter