ताराध्वज पाण्डेको राजीनामा
काठमाडौं :भावी प्रधानसेनापतिको रोलक्रममा ल्याउने गरी जंगीअड्डाले अघि सारेका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् ।
उनले दिएको राजीनामा रक्षा मन्त्रालयमा पठाइएको नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
पाण्डेले परीक्षा नियन्त्रण कार्यालयको ढड्डामै केरमेट गरेर झण्डै दुई वर्ष उमेर घटाएको विवरण १६ कात्तिकमा सार्वजनिक गरेको भएको थियो । लगत्तै यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो ।
चार दिनअघि मात्रै पाण्डेको उमेर विवादमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको थियो । आयोग स्रोतका अनुसार, सञ्चारमाध्यममा आएका विवरण र आयोगमा समेत उजुरी परेपछि त्यसमाथि छानबिन गर्न रक्षा मन्त्रालयलाई पत्राचार गरिएको थियो ।
‘प्रारम्भिक अध्ययनपछि छानबिन गर्न जरुरी देखिएकाले के कसो भएको भनी छानबिन गरेर त्यसको विवरण पठाउनु भनेर मन्त्रालयलाई पत्र लेखिएको छ’, रक्षा मन्त्रालयमार्फत जंगीअड्डामा समेत छानबिन अघि बढाउन पत्र पुगिसकेको थियो ।’
रक्षा मन्त्रालयका स्रोतका अनुसार, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का पनि विवाद आएपछि यसमा छानबिन गरेर मात्र अघि बढ्नुपर्ने पक्षमा थियो । यसपछि छानबिनका लागि रथी सीताराम खड्काको नेतृत्वमा सेनाको कानून हेर्ने प्राड विवाकका प्रमुख रत्नप्रकाश थापा र अर्का एक जना सदस्य रहेको समिति बनाइएको थियो ।
समितिले छानबिनका क्रममा जन्ममितिमा कैफियत भेटेपछि उपरथी पाण्डेले राजीनामा दिएका हुन् । स्रोतका अनुसार, राजीनामा नदिँदा ‘कोर्ट मार्सल’ हुनसक्ने चेतावनी दिएपछि उनले स्वेच्छिक अवकाशको बाटो रोजेका हुन् ।
परीक्षा नियन्त्रण कार्यालय स्रोतबाट प्राप्त गरेको जन्ममितिको मार्क रजिस्टरमा सुरुमा उनको जन्ममिति १२ माघ २०२१ उल्लेख छ । तर, पछि त्यसलाई केरेर २३ मंसिर २०२३ बनाउँदै उमेर घटाइएको छ ।
त्यसअनुसार पाण्डेको जन्ममिति १२ माघ २०२१ कायम हुँदा उनले १ वर्ष ९ महिना अघि अवकाश पाउनुपर्थ्यो । किनकि, उपरथीको अवकाशको उमेरहद ५७ वर्ष छ ।
पाण्डेलाई रथी बढुवामा सिफारिस गर्न जंगीअड्डाले २९ असोजमा सूचना जारी गरेको थियो । सूचना जारी भएको ७ दिनपछि बढुवा सिफारिस सम्बन्धी पत्र रक्षा मन्त्रालय हुँदै मन्त्रिपरिषद्सम्म पुगेर निर्णय हुनुपर्ने थियो ।
यद्यपि, दशैं बिदा र लगत्तै भएको प्रधानसेनापति प्रभुराम शर्माको चीन भ्रमणका कारण सिफारिस अघि बढेको थिएन । स्रोतका अनुसार, प्रधानसेनापति शर्मा १६ कात्तिकमा फर्किएलगत्तै उपरथी पाण्डेलाई रथी बढुवामा सिफारिस गर्न पत्र पठाउने तयारी थियो ।
तर, छानबिनविना प्रस्ताव आए फाइल फर्काउने संकेत रक्षा मन्त्रालयले दिएपछि जंगीअड्डा तत्काल सिफारिस पठाउन हच्किएको थियो ।
‘
Share on Twitter