डार्ट प्रयोग गरी चितुवा नियन्त्रणमा
काठमाडौं । भक्तपुरको मध्यपुरठिमी– ३ कौशलटारमा फेला परेको चितुवा डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको छ ।
चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयका काठमाडौंका वन अधिकृत अशोक पराजुलीको नेतृत्वमा जमदार युवराज कार्की र पशु चिकित्सक आशुतोष भट्टसहितको टोली खटिएको थियो ।
एक घरको बाउन्ड्री भित्र कुनामा लुकेको चितुवालाई डार्ट प्रयोग गरेर नियन्त्रणमा लिइएको र ललितपुरको जावलाखेलस्थित चिडियाखानामा पठाइने पराजुलीले जानकारी दिए । ‘सुरुमा जावलाखेल लगेर स्वास्थ्य जाँच गर्छौं र स्वास्थ्य सामान्य रहेछ भने जंगलमा लगेर छाड्छौं,’ वन अधिकृत पराजुलीले भने ।
वन अधिकृत पराजुलीका अनुसार चितुवा वयस्क छ । ‘चितुवा करिब ७–८ वर्षको होला, वजन पनि झण्डै एक सय किलो होला,’ पराजुलीले भने, ‘कठिन संघर्ष गरेर नियन्त्रणमा लिन सफल भएका छौं ।’
चितुवा नियन्त्रणमा लिएको हेर्न स्थानीयको ठूलो भिड जम्मा भएको थियो । सुरुमा चितुवाले स्थानीयलाई आक्रमण गरेको थियो । आक्रमणबाट दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
चितुवा फेला परेपछि डिभिजन वन कार्यालय भक्तपुरले डिभिजन वन कार्यालय काठमाडौंको टोलीलाई खबर गरेको थियो । लगत्तै वन अधिकृत पराजुलीसहितको टोली परिचालित भएको थियो ।
Share on Twitter