चिकित्सा शिक्षा आयोगमा नयाँ निर्देशक सिफारिस गर्न समिति गठन
काठमाडौं:चिकित्सा शिक्षा आयोगको निर्देशकको नाम सिफारिस गर्न समिति गठन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी ४ मंसिर देखि रिक्त हुन लागेको चार जना नयाँ निर्देशकको नाम सिफारिस गर्न समिति गठन गरेका हुन् ।
आयोगको अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।
सो समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य रहेका छन् ।समितिले काम सुरु गरेको १५ दिन भित्र निर्देशक पदमा नियुक्तिका लागि उपाध्यक्ष समक्ष नाम सिफारिस गर्नुपर्नेछ । अहिले आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयमा निर्देशकको रुपमा प्राडा दिलिप शर्मा रहेका छन् ।
अर्को योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयमा प्राडा रमेशप्रसाद आचार्य निर्देशक छन् । यस्तै परीक्षा निर्देशनालयको निर्देशक प्राडा संघरत्न बज्राचार्य रहेका छन् ।
यसैगरी नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको निर्देशकमा प्राडा आरती (खनाल) शाह निर्देशक रहेकी छन् । उनीहरुको चार वर्षे अवधी आगामी ४ मंसिरमा सकिदैछ ।
Share on Twitter