उपरथी ताराध्वज पाण्डेको उमेर विवादमा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको उमेर विवादमा छानबिन गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।
आयोग स्रोतका अनुसार, सञ्चारमाध्यममा आएका विवरण र आयोगमा समेत उजुरी परेपछि पाण्डेको उमेर विवादमा छानबिन गर्न तीन दिनअघि रक्षा मन्त्रालयलाई पत्राचार गरिएको हो ।
‘प्रारम्भिक अध्ययनपछि छानबिन गर्न जरुरी देखिएकाले के कसो भएको भनी छानबिन गरेर त्यसको विवरण पठाउनु भनेर मन्त्रालयलाई पत्र लेखिएको छ’, आयोग स्रोतले अनलाइनखबरसँग भन्यो, ‘रक्षा मन्त्रालयमार्फत जंगीअड्डामा समेत छानबिन अघि बढाउन पत्र पुगिसकेको छ ।’
रक्षा मन्त्रालयका स्रोतका अनुसार, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का पनि विवाद आएपछि यसमा छानबिन गरेर मात्र अघि बढ्नुपर्ने पक्षमा छन् । पाण्डेले परीक्षा नियन्त्रण कार्यालयको ढड्डामै केरमेट गरेर झण्डै दुई वर्ष उमेर घटाएको विवरण अनलाइनखबरले १६ कात्तिकमा सार्वजनिक गरेको थियो ।
लगत्तै यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो ।
परीक्षा नियन्त्रण कार्यालय स्रोतबाट अनलाइनखबरले प्राप्त गरेको जन्ममितिको मार्क रजिस्टरमा सुरुमा उनको जन्ममिति १२ माघ २०२१ उल्लेख छ । तर, पछि त्यसलाई केरेर २३ मंसिर २०२३ बनाउँदै उमेर घटाइएको छ ।
त्यसअनुसार पाण्डेको जन्ममिति १२ माघ २०२१ कायम हुँदा उनले १ वर्ष ९ महिना अघि अवकाश पाउनुपर्थ्यो । किनकि, उपरथीको अवकाशको उमेरहद ५७ वर्ष छ ।
पाण्डेलाई रथी बढुवामा सिफारिस गर्न जंगीअड्डाले २९ असोजमा सूचना जारी गरेको थियो । सूचना जारी भएको ७ दिनपछि बढुवा सिफारिस सम्बन्धी पत्र रक्षा मन्त्रालय हुँदै मन्त्रिपरिषद्सम्म पुगेर निर्णय हुनुपर्ने थियो ।
यद्यपि, दशैंबिदा र लगत्तै भएको प्रधानसेनापति प्रभुराम शर्माको चीन भ्रमणका कारण सिफारिस अघि बढेको थिएन ।
स्रोतका अनुसार, प्रधानसेनापति शर्मा १६ कात्तिकमा फर्किएलगत्तै उपरथी पाण्डेलाई रथी बढुवामा सिफारिस गर्न पत्र पठाउने तयारी थियो ।
तर, छानबिनविना प्रस्ताव आए फाइल फर्काउने संकेत रक्षा मन्त्रालयले दिएपछि जंगीअड्डा तत्काल सिफारिस पठाउन हच्किएको थियो ।
पाण्डेले तनहुँको चुँदीस्थित चन्द्रवती माध्यमिक विद्यालयबाट २०३८ सालमा प्रवेशिका परीक्षा दिएका थिए । प्रवेशिका परीक्षा दिँदा उनको जन्ममिति १२ माघ २०२१ उल्लेख थियो ।
तर, त्यो जन्ममितिलाई उनले चार वर्षपछि २५ चैत २०४२ मा सच्याएर जन्ममिति घटाएको परीक्षा नियन्त्रण कार्यालयको विवरणमा देखिन्छ । जबकि, जन्ममितिमा कैफियत भए प्रवेशिका परीक्षा दिएको ६ महिनाभित्र सच्याइसक्नुपर्ने प्रावधान उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७ मा थियो ।
परीक्षा नियन्त्रण कार्यालयको मार्क रजिष्टर’
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अनलाइनखबरसँग भनेका छन्, ‘नियमावली अनुसार जन्ममिति सच्याउनलाई ६ महिनाभित्र दरखास्त दिनुपर्ने व्यवस्था थियो, २०८० सालमा भएको तेस्रो संशोधनपछि अहिले बल्ल यसलाई बढाएर ५ वर्ष पुर्याइएको छ ।’
यो प्रावधान पनि ०८० सालपछि परीक्षा दिएका विद्यार्थीहरुको हकमा लागू हुने हो । बोर्ड अध्यक्ष शर्मा थप्छन्, ‘जन्ममिति लगायतको विवरण सच्याउन पनि प्रमुख जिल्ला अधिकारीलाई दरखास्त दिएर त्यहाँबाट प्रमाण हेरेर पठाएपछि मात्र विवरण सच्याउने व्यवस्था छ ।’
जन्ममिति सच्याउनेबारे नियमावलीको नियम ३ उपनियम ९२० मा प्रमुख जिल्ला अधिकारीले सम्बन्धित विद्यार्थीसँग भएको प्रमाणसँगै आवश्यकता अनुसार साक्षी सरजमिन समेत बुझेर फैसला गर्ने भनिएको छ ।
Share on Twitter