राहात वितरणमा राजनीति
काठमाण्डौ : भूकम्प पिडितले राहातमा विभेद गरेको गुनासो गरेका छन् । खलङ्गास्थित कस्तुरी सहकारी स्कुलको चौरमा २० वर्षीया विमला तिरुवाको दुई दिनदेखि खाना नएको बताइएको छ । भर्खरै सुत्केरी भएकी बिमलाको साथमा चार दिनको बच्चा छ । उनले प्रोटिनयुक्त खानेकुरा र विशेष स्याहारसुसार चाहिने बेला एक छाक खान समेत समस्या भएको उनको गुनासो छ ।
उनका अनुसार खाना किनेर खानलाई होटल खुलेको छैनन । पकाउनलाई सामान छैन’, । सत्केरी विमलाले तातो पानी समेत खान पाएकी छैनन् । शुक्रबार ६.४ रेक्टर स्केलको भूकम्प गएपछि सदरमुकाम खलङ्गामा अहिले पानीको समस्या छ । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रादेशिक अस्पतालमा उपचार गरेर फर्किएपछि उनी जाजरकोटको कुशे गाउँपालिकास्थित घर जानुपर्ने थियो । तर, भूकम्प गएपछि श्रीमान् रुपेश, आमा र बच्चासहित विमला सदरमुकाम खलङ्गामा अलपत्र परिन् ।
कुशेमा रहेको घर पनि भूकम्पले भत्काइसक्यो । घरसम्म जान पाए खान त केही पाइन्थ्यो कि भनेर पनि सोच्यौं’, उनले भनिन्, ‘तर, जाने बाटो पनि ठाउँ–ठाउँमा भत्किएको रहेछ ।’
उनीसँगै भेरी नगरपालिका–४ की २५ वर्षीया गौरी विक एउटै त्रिपालमा बसेकी छन् । हातमा ८ दिनको बच्चा च्यापिरहेकी उनको समोसाका भरमा दिन कटिरहेको छ । हिजो डाक्टरहरुको टोली आएर नामहरु सोध्नु भएको थियो, अरु कोही आउँदै सोध्दै गरेर जान्छन्’, उनले भनिन्, तर, खानलाई केही छैन, बस्नलाई त झन् के कुरा गर्ने ।
भेरी नगरपालिका–४ स्थित यो स्कुलको चौरमा बसेकी सुनिता खड्का अहिलेसम्म आफूहरु राहत सामग्री नपाएको बताउँछिन् .‘त्यत्रो राहत आएको आयै छ, किन त्यस्तो गरेको होला’, उनले प्रश्न गरिन्, समस्या परेकाहरुलाई बाँड्ने हो भने सबैलाई पुग्थेन र ?
विमलाका श्रीमान् रुपेश सोमबार राति २ बजेतिर आएर आफूहरु रहेको आसपासको घरहरुमा राहत बाँडिएको बताउँछन् । त्यहीँ पनि भोट हाल्ने र नहाल्ने भनेर छुट्याएर बाँडिएको छ ।’ कतिपयले ३, ४ पटकसम्म पनि राहत पाएको तर, कसैले पाउँदै नपाएको उनले गुनासो गरिन् । राहत वितरणमा विभेद गरेको भन्दै केही युवाले भेरी नगरपालिका–४ को वडा कार्यालयमा ताला समेत लगाइदिएका छन् ।
जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख डीएसपी सन्तोष रोकाका अनुसार, सदरमुकाम खलङ्गामा प्रायः अन्यत्रका मानिसहरुको बसोबास छ । यहाँका मानिसहरु घर भाडामा दिएर कोही सुर्खेत, नेपालगञ्ज वा गाउँतिर छन्,’ रोकाले भने ।
एकद्वार प्रणाली लागू गरेर स्थानीय जनप्रतिनिधिमार्फत राहत वितरणमा भइरहँदा सदरमुकाममा बाहिरका मान्छे भनेर आफूहरुलाई विभेद गरिएको पीडितको गुनासो छ ।
Share on Twitter