सार्क राष्ट्रका मनोचिकित्सकहरुको १४ औं सम्मेलन काठमाडौंमा सुरु
काठमाडौं : सार्क राष्ट्रका मनोचिकित्सकहरुको १४ औं सम्मेलन काठमाडौंमा सुरु भएको छ । मानसिक स्वास्थ्य प्रवद्र्धन र विकासका लागि सार्क राष्ट्रहरुबीच सहकार्य र समन्वय भन्ने नाराका साथ सुरु भएको सम्मेलन दुई दिनसम्म चल्ने छ।
काठमाडौंको एक होटलमा सुरु भएको कार्यक्रममा सार्क राष्ट्रका करिब तीन सय जना मनोचिकित्सकहरुको सहभागिता छ । सार्क मुलुकका नागरिकको मानसिक स्वास्थ्यको प्रवद्धनका लागि एक आपसमा समन्वय तथा सहयोगका कार्यक्रम अभिवृद्धि गर्ने सम्मेलनको मुख्य एजेण्डा रहेको सम्मेलनका साइन्टिफिक कमिटीका अध्यक्ष प्रा.डा.सरोज ओझाले जानकारी दिए।
यो सम्मेलनलाई मानसिक स्वास्थ्यका विषयमा भएका उपलब्धि तथा गतिविधिका बारेमा छलफल गर्नुकासाथै एक आपसमा अनुभव साट्ने थलोका रुपमा लिइएको छ। प्रत्येक वर्ष सार्क मुलुकमा पालैपालो हुने यो सम्मेलन यो वर्ष नेपालमा भएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार नेपालमा यो सम्मेलन तेस्रो पटक गरिएको हो। नेपालजस्ता विकासोन्मुख देशका ९० प्रतिशत मानसिक रोगीहरु उपचारको पहुँचमा नरहेकाले सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन यो सम्मेलन फलदायी हुने डा ओझाले विश्वास ब्यक्त गरे ।
आजको कार्यक्रममा सार्क साइक्याट्रिक फेडरेशनको आगामी कार्यकाल (२०२३ –२०२५) अध्यक्षमा प्रोफेसर डा.सेचा वीलियम्सनलाई जिम्मेवारी दिइएको छ ।
हाल (२०२१ – २०२३) को अध्यक्ष डा.गौतम शाहाले श्रीलंकाका डा वीलियम्सनलाई जिम्मेवारी हस्तान्त्रण गरेका छन् सम्मेलन सुरु हुनु अगाडि प्रोफेसर डा.नर्मन सार्टोरियसले नेपालका युवा मनोचिकित्सकलाई मानसिक स्वास्थ्य प्रवद्र्धन र प्राथमिकतामा राख्न नेतृत्वदायी भूमिका वहन गराउन ३ दिने तालिम दिएका थिए ।
Share on Twitter